राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशन १५–१७ मंसिरमा हुने भएको छ । यसअघि ११ देखि १३ मंसिरसम्म मिति तोकिएकोमा समय अभावको कारण देखाउँदै दुई दिन पछि सारिएको हो ।
‘केही प्राविधिक कारणले महाधिवेशनको मिति सार्ने निर्णय भएको हो,’ राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचनको मिति पनि ६ देखि ८ मंसिरसम्म हुने तय भएको छ । यसअघि ३ देखि ५ मंसिरसम्म हुने तय थियो ।’ राप्रपा केन्द्रीय निर्वाचन समितिले ९ मंसिरभित्र महाधिवेशन प्रतिनिधिको नाम पठाउन सबै जिल्लाका निर्वाचन समितिहरूलाई निर्देशनसमेत दिएको श्रेष्ठले बताए ।
राप्रपा महाधिवेशनमा अध्यक्षत्रय कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाले भावी अध्यक्षका लागि दाबी गरेका छन् । दोस्रो पुस्ताका तर्फबाट नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । राप्रपाले हिन्दू धर्म सापेक्ष हुनुपर्ने र राष्ट्रप्रमुखका रूपमा सेरेमोनियल राजसंस्था हुनुपर्ने धारणा राख्दै आएको छ ।