बोस्निया टुक्रिन लागेको छ, विश्वले ध्यान देओस्

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण

रक्तपातपूर्ण युद्ध र कठिन वार्ताबीचबाट निर्माण भएको बोस्निया हर्जगोभिना विघटनको संघारमा पुगेको छ


एकजना बोस्नियाली–सर्ब नेताले सार्वजनिक रूपमा बोस्निया हर्जगोभिनालाई टुक्र्याउने घोषणा गरे । जातीय–राष्ट्रवादलाई उचाल्दै आएका ती नेताले देशलाई टुक्र्याएर द्वन्द्व भड्काउने धम्की दिएका छन् । पश्चिमी मुलुक आफ्नै समस्यामा अलमलिइरहेकाले थोरैले मात्र ध्यान दिए होलान् । यो घटना सन् १९९१ को युगोस्लाभियाको नभएर आजको बोस्निया हर्जगोभिनाको हो । बोस्निया हर्जगोभिनाको जटिल संवैधानिक व्यवस्था रक्तपातपूर्ण युद्धका बीचबाट निकै कठिन वार्ताबाट तयार पारिएको थियो । अब त्यो व्यवस्था अन्त्य हुने संघारमा पुगेको छ । 

पछिल्लो संकटको केन्द्रमा छन्, बोस्नियाली सर्ब नेता मिलोराद डोडिक । पहिलेदेखि पृथकतावादी रहेका डोडिकले अक्टोबरमा सर्ब जातिको बहुलता रहेको ‘रिपब्लिका सर्पस्का’लाई बोस्निया हर्जगोभिनाबाट अलग्याउने योजना घोषणा गरे । उनी अलग कर कार्यालय, सेना र सुरक्षा फौज गठन गर्न चाहन्छन् । जातीय हिंसा र द्वन्द्वको आलो इतिहास बोकेको बाल्कन क्षेत्रमा यो डरलाग्दो विकासक्रम हो । विगत १५ वर्षको अवधिमा अमेरिका र युरोपले एकपछि अर्को गर्दै बाल्कन क्षेत्रलाई बेवास्ता गर्न थाले ।

तिनको अनुपस्थितिमा उत्पन्न रिक्ततालाई पुर्न विभिन्न विदेशी शक्ति प्रतिस्पर्धा गरिरहेका छन् । प्रतिस्पर्धामा रुस सबैभन्दा अगाडि छ । विदेशी शक्तिबीचको प्रतिस्पर्धाले अधिनायकवादी नेतालाई बल पुगेको छ भने यो क्षेत्र पनि बिस्तारै अस्थिर बन्दै गएको छ । बोस्नियाको विभाजनबाट नयाँ युद्ध सुरु हुनेछ । यो भयावह स्थितिलाई टार्ने हो भने पश्चिमी शक्तिले तत्काल यो क्षेत्रमा ध्यान दिन आवश्यक छ । अर्थात्, तिनले आजको यो क्षेत्रले लिइरहेको दिशालाई उल्ट्याउन सके भने मात्र विपद् उल्टिनेछ । 

सन् १९९० को दशकमा तत्कालीन युगोस्लाभियाको विघटनले निम्त्याएको द्वन्द्वविरुद्ध पश्चिमले ढिलो मात्रै प्रतिक्रिया जनाएको थियो । ठूलो रक्तपातपछि अन्ततः सन् १९९५ मा पश्चिमी शक्तिले बोस्नियाभित्र रहेका सर्ब फौजमाथि हवाई आक्रमण गर्यो । सन् १९९९ मा पुनः सर्बिया र कोसोभोका सर्ब सेनामाथि पनि हवाई आक्रमण गरियो । पछि शान्तिसम्झौता कार्यान्वयनको स्थिति निगरानी गर्न दशौँ हजार नेटो फौज बाल्कन क्षेत्रमा तैनाथ भयो । 

अमेरिका र युरोपेली संघले बाल्कन क्षेत्रको पुनर्निर्माणका लागि अर्बौं डलर खर्च गरे । पश्चिमी संलग्नताको अवधिलाई कतिले सही रूपमा अल्पदृष्टियुक्त र गैरजिम्मेवार भन्दै आलोचना पनि गरेका छन् । तर, पश्चिमी पहलकदमीले बाल्कन क्षेत्रको सुरक्षा र स्थायित्व सुनिश्चित गर्न सघाएको भने कसैले नकार्न सक्दैन । अफगानिस्तान र इराक युद्धमा फसेपछि अमेरिकाले सन् २०१० बाट बाल्कन क्षेत्रबाट हात झिक्यो । बाहिरिने समयमा अमेरिकाले बाल्कन क्षेत्रको सम्पूर्ण जिम्मेवारी युरोपेली संघलाई सुम्पिएको थियो । संघले क्रमिक रूपमा ती मुलुकलाई सदस्यता दिने र त्यस क्षेत्रमा दिगो स्थायित्व निर्माण गर्न नेतृत्व लिने आशा थियो । सन् २०१९ सम्म संघ आफ्नै समस्या अलमलियो र ध्रुवीकृत भयो । यस अवधिमा बाल्कन मुलुकको सदस्यताको सम्भावना टर्दै गयो । 

बोस्निया हर्जगोभिना विभाजन भयो भने त्यसले नयाँ युद्ध सुरु गराउनेछ । यो भयावह स्थितिलाई टार्ने हो भने विश्व र विशेषतः पश्चिमी शक्तिले तत्काल यो क्षेत्रमा ध्यान दिन आवश्यक छ ।

युरोपेली सपना लुटिएपछि र युरोपेली संघको साझा बजारमा पूर्ण पहुँच नपाएपछि नै हो, बाल्कन नेतामा राष्ट्रवाद र लोकप्रियतावादको राजनीति हावी भएको । नयाँ राजनीतिक लहरसँगै विधिको शासन, मानवअधिकार र अन्य प्रमुख लोकतान्त्रिक सिद्धान्त कमजोर हुँदै छन् । बोस्निया, मोन्टेनेग्रो, नर्थ म्यासेडोनिया र कोसोभोजस्ता राष्ट्रिय परियोजना टुंगोमा नपुगेका बहुजातीय देशमा जातीय राजनीतिक विभाजन बढ्दै गएको छ । विशेषतः राजनीतिक प्रतिनिधित्व र तीसँग आबद्ध मिडिया फरक जातीय समूहविरुद्ध घृणा फैलाइरहेका छन् । बोस्निया हर्जगोभिनाको राजनीतिमा जातीय राष्ट्रवादले प्रमुख भूमिका निभाउन थालेको छ ।

डोडिक यो शैली अपनाउने एक्ला नेता होइनन् । देशको सबैभन्दा ठूलो जातीय समूह मुसलमान–बोस्नियाक एकल राज्य बचाउन उग्र छ भने बोस्नियाली क्रोयट्स जातिले स्वशासित क्रोयट्स क्षेत्र मागिरहेका छन् । पश्चिमको बहिर्गमनले लोकतान्त्रिक प्रगतिमा क्षय मात्र सुरु गरेन, बाह्य हस्तक्षेप पनि सुरु गरायो । रुसको बढ्दो चाखको परिणामस्वरूप उसले सर्ब बहुल क्षेत्रमा बलियो राजनीतिक प्रभाव विकास गरेको छ । टर्की, अरब मुलुक र इरानले मुसलमान बहुल क्षेत्रमा प्रभाव जमाएका छन् । चीनले आर्थिक व्यवहारवाद र बलियो आर्थिक स्रोतको प्रयोग गरेर सम्पूर्ण क्षेत्रमा उपस्थिति जनाएको छ । छिमेकी मुलुकहरू क्रोएसिया र सर्बियाले पनि बोस्नियाको आन्तरिक मामिलमा हस्तक्षेप गर्न थालेकाले स्थिति झन् तनावपूर्ण बनेको छ । 

डोडिक एक समय अमेरिकासमर्थित लिबरल राजनीतिज्ञ थिए । तर, पश्चिमले गरेको वाचा व्यवहारमा नदेखिएपछि उनमा राष्ट्रवादी रुझान देखिन थाल्यो । पछिल्लो समय रुसको समर्थनमा उनी पृथकतावादी बनेका छन् । उता, मुसलमान–बोस्नियाक पश्चिमी शक्तिबाट परित्यक्त महसुस गर्छन् । उनीहरू सहयोगका लागि टर्कीतर्फ फर्किएका छन् । बोस्नियाली–क्रोयट्स भने छिमकी क्रोएसियाको भरोसामा छन् । बोस्नियाको वर्तमान अवस्था सन् १९९२ मा द्वन्द्व सुरु हुनुअघिको जस्तै देखिन्छ । डोडिक आफ्नो योजनामा अगाडि बढे भने त्यो स्पष्ट रूपमा देशको शान्तिसम्झौताको उल्लंघन हुनेछ । जवाफमा बोस्नियाली–क्रोयट्स नेतृत्वले युद्धकालीन स्वशासित क्षेत्र हर्जेग–बोस्निया पुनस्र्थापना गर्ने प्रयास गर्नेछन् । यी विवादबीच मुसलमान–बोस्नियाक भने बोस्नियाको प्रतिरक्षाका लागि हतियार उठाउन पनि पछि पर्नेछैनन् । बोस्नियामा अन्तर्राष्ट्रिय समर्थकबाट हतियार आपूर्ति भइरहेकाले युद्ध सहजै भड्किन सक्छ । 

अमेरिका र युरोपेली संघको संस्थागत स्मरणबाट विगतमा तिनले यो क्षेत्रमा बगाएको रगत पसिना मेटिए जस्तो छ । सन् १९९० को दशकमा बाल्कन क्षेत्रलाई गाँजेको रक्तपातपूर्ण युद्ध अन्त्य गर्न अमेरिका र युरोपले तिनका सेना, अर्बौं डलर गुमाएका थिए । तिनले बाल्कन क्षेत्रमा स्रोत तथा उच्चपदस्थ अधिकारी परिचालन गरे स्थिति नियन्त्रणबाहिर जानबाट रोकिन सक्छ । 

अमेरिका र युरोपेली संघले विगतमा अपनाएको ‘पुरस्कृत गर्ने र दण्डित गर्ने’ रणनीतिलाई पुनः ब्युँताउनुपर्छ । यसमा प्रतिबन्ध, अनुदान र वित्तीय स्रोतजस्ता विकल्प प्रयोगमा ल्याएमा विगतमा जस्तै बाल्कनमा सफलता हासिल गर्न सक्छन् । यसका लागि पहिले त पश्चिमी अधिकारीले स्थानीय तथा क्षेत्रीय नेतालाई वार्ताको टेबलमा ल्याउनुपर्छ । यसक्रममा अन्य मुलुकको हानिकारक प्रभावमा निगरानी राख्नुपर्छ । मुख्यतः बोस्निया हर्जगोभिनाका नेतृत्व जस्तोसुकै चुनौती सामना गर्न तयार हुुनुपर्छ । तर, सबैभन्दा पहिले पश्चिमले यस क्षेत्रका लागि अघि सारेको दीर्घकालीन युरोपेली दृष्टिकोण ब्युँताउनुपर्छ । बाल्कन क्षेत्रमा आगो सल्किसकेको छ । यदि यो आगोले बाल्कन क्षेत्र र युरोपलाई डढाउनबाट जोगाउने हो भने अहिले निभाइहाल्नुपर्छ ।

सुझावित समाचार