नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रसुवामा भएको अधिवेशनमा असन्तुष्ट जनाउँदै एक पक्षले दुईवटा गाउँपालिकाको सम्पूर्ण कागजपत्र चोरेर लगेका छन्। निर्वाचन अधिकृतको कार्यालय धुन्चेमा बुझाइएको जिल्लाको उत्तरगया र कालिका गाउँपालिकाको सम्पूर्ण फाइल चोरी भएको हो।
आज (बुधबार) बिहान सदरमुकाम धुन्चेस्थित एक होटेलको कोठामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा झ्याल फुटाई फाइलिङ गरेर राखिएको कालिका र उत्तरगया गाउँपालिकाका सबै वडाका कागजात चोरी भएको सहायक निर्वाचन अधिकृत जनकसिंह साउदले बताए। बिहान करिब ६ बजेदेखि ७ बजेको समयमा फाइलिङ गरिएर राखिएको फाइल चोरी भएको उनले बताए। ‘कोठामा सबै लक गरेर चिया पिउन होटेलमा उक्लिएका थियौँ, चिया पिएर तल कोठामा गई ढोका खोल्दा झ्यालको सिसा फुटाएर कालिका र उत्तरगया गाउँपालिकाको सबै वडाको फाइलिङ गरेर राखिएको सम्पूर्ण कागजात चोरिएको रहेछ,’ उनले भने।
फाइल चोरी हुनुअघि बिहान करिब ५ बज केन्द्रीय निर्वाचन समितिसँग छलफल गर्नुपर्ने भन्दै निर्वाचन अधिकृत सुमनकुमार केसी काठमाडाैं गएको बताइएको छ। केसी काठमाडाैं जानु र चोरी हुनुमा निर्वाचन अधिकृतको हात रहेको आशंका गरिएको छ। काठमाडाैं जाँदै गरेका उनलाई प्रहरीले पक्राउ गरी जिल्ला ल्याउँदै गरेको स्रोतले जनाएको छ।
जिल्लामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न गराउनका लागि निर्वाचन अधिकृत सुमनकुमार केसी र सहायक निर्वाचन अधिकृत जनकसिंह साउदलाई केन्द्रबाट खटाइएको थियो। सदरमुकाम धुन्चेमा रहेको एक होटेलमा बसेर उनीहरूले अधिवेशनका सबै काम गरिरहेका थिए। उनीहरूले वडा अधिवेशन सम्पन्न गराउन जिल्लाको २७ वटै वडामा शिक्षक संघका शिक्षकहरूलाई मतदान अधिकृतको रूपमा खटाएका थिए।
वडा अधिवेशनको क्रममा पठाइएका मतदान अधिकृतले एकलौटी ढंगले गरेको भन्दै आफूहरूको सहमति नरहेको र क्षेत्रीय प्रतिनिधि चयनसम्बन्धी विमति रहेको भन्दै उजुरी प्राप्त भएको सहायक निर्वाचन अधिकृत जनकसिंह साउदले बताए। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– १, उत्तरगया गाउँपालिका वडा नम्बर २, ३ र ५ मा वडा अधिवेशन एकलौटी गरेको भन्दै उजुरी आएको उनले बताए।
‘असन्तुष्ट पक्षका केही व्यक्तिले टेलिफोनसँगै प्रत्यक्ष होटेलमा आई अधिवेशन एकतर्फी गरेको छ, अब तोडफोड हुन्छ, अब यहाँ बम पड्किन्छ, लगायतका त्रासपूर्ण कुराहरू गरिरहनुभएको थियो,’ उनले भने, ‘घटनाबारे सबै निकायलाई खबर गरिसकेको छु। महाधिवेशन प्रक्रियालाई निरन्तरता दिने वा के गर्ने भन्नेबारे पार्टी सभापतिलगायतको बैठक बस्छौँ, गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४, ५ र ६ त्यसैगरी नौकुण्ड गाउँपालिका– ६ को पनि सबै डकुमेन्ट आइसकेको छैन।’ सहायक निर्वाचन अधिकृत साउदले शान्ति सुरक्षा पाऊँ भन्दै जिल्ला प्रशासन कार्यालय रसुवासँग माग गरेका छन्।
घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ। कागजात चोरीमा संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए।
रसुवामा वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यहरूको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद भएको थियो । गत शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुन समावेश गराएसँगै विवाद समाधान भएको बताइएपछि आइतबार वडा अधिवेशन सुरु भएको थियो। जिल्लामा नेपाली कांग्रेसको तीन हजार नाै सय ६४ क्रियाशील सदस्यको नामावली सार्वजनिक भएको छ।