बाबरको कप्तानीमा आइसिसी ड्रिम ११ को घोषणा

भारत, वेस्ट इन्डिज, बंगलादेश तथा अफगानिस्तानका खेलाडी ड्रिम ११ मा परेनन्

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

 विश्व खेलकुदमा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको समाप्तिसँगै उत्कृष्ट ११ खेलाडी घोषणा हुने गर्छ । विशेषगरी क्रिकेट र फुटबलमा ड्रिम ११ टोली घोषणालाई बढी नै महत्व दिने गरिएको छ । दुबईमा आइतबार सम्पन्न सातौँ संस्करणको आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलिया नयाँ विश्व च्याम्पियन बन्यो । न्युजिल्यान्ड लगातार तेस्रोपटक विश्वकप फाइनलमा पराजित भयो । आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रतियोगिता समाप्तिको दोस्रो दिन नै उत्कृष्ट ११ खेलाडी घोषणा गरेको छ । 

दुबईस्थित आइसिसीको मुख्य कार्यालयले सोमबार पाकिस्तानका कप्तान बाबर अजामको नेतृत्वमा ११ खेलाडीका नाम सार्वजनिक गरेको छ । आइसिसीले ६ राष्ट्रका खेलाडी समावेश गरी आइसिसी ड्रिम ११ को नाम सार्वजनिक गरेको छ । ती ६ राष्ट्रका खेलाडीहरूले विश्वकपभरि असाधारण प्रदर्शन गरेको आइसिसीको भनाइ छ । आइसिसीको ड्रिम ११ मा उपविजेता न्युजिल्यान्ड, पाकिस्तान, इंग्ल्यान्ड, दक्षिण अफ्रिका तथा श्रीलंकाका खेलाडी अटाएका छन् । श्रीलंका र दक्षिण अफ्रिका सुपर १२ बाटै बाहिरिएका टोली हुन् । 

आइसिसीले घोषणा गरेका खेलाडीमा भारत, वेस्ट इन्डिज र बंगलादेशका प्रतिनिधित्व छैन । सुपर १२ सम्म उत्कृष्ट प्रदर्शन गरेका अफगानिस्तानसँगै नामिबिया तथा स्कटल्यान्डका खेलाडीले पनि ड्रिम ११ मा स्थान पक्का गर्न सकेनन् । प्रतियोगिताको म्यान अफ दी सिरिज न्युजिल्यान्डका डेभिड वार्नरले सुपर १२ अन्तर्गत वेस्ट इन्डिजविरुद्धदेखि नै उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले सेमिफाइनल तथा फाइनलमा म्यान विनिङ प्रदर्शन गरे । 

इंग्ल्यान्डका बटलरले श्रीलंकाविरुद्ध प्रतियोगिताकै एक मात्र शतकीय (एक सय एक रन) इनिङ्स खेलेका थिए । श्रीलंकाका वारिन्दु हसारंगा प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बने । उनले सर्वाधिक १६ विकेट हात पारे । घोषित नाममा अस्ट्रेलियाका लेग स्पिनर एडम जाम्पा र फास्ट बलर जोस हेजलउड छन् । हेजलउडले फाइनलमा न्युजिल्यान्डका तीन विकेट लिएका थिए । ड्रिम ११ मा वार्नर तथा इंग्ल्यान्डका बटलर ओपनिङका रूपमा रहेका छन् । 

त्यसपछि तेस्रो नम्बरमा पाकिस्तानका बाबर तथा चौथो स्थानमा अलराउन्डरका रूपमा इंग्ल्यान्डका मोइन अली छन् । श्रीलंकाका चरिथ असालंका तथा दक्षिण अफ्रिकाका एडेन माकारान छन् ।  न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र दक्षिण अफ्रिकाका अरिन्च नोट्जे रहेका छन् । विश्वकपभरि नै पावर प्लेमा घातक बलिङ गरेका पाकिस्तानका युवा सिमर साहिन साह अफ्रिदी १२औँ खेलाडीका रूपमा छन् ।

सुझावित समाचार