प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरू विभाजित बनेका छन्। प्रधानन्यायाधीश प्रकरणको विषयलाई लिएर उनीहरू विभाजित बनेका हुन्।
प्रधानन्यायाधीशबाहेकका न्यायाधीश र नेपाल बार एसोसिएसनबीचको छलफलमा बस्न अस्वीकार गरेर पाँच न्यायाधीशले यस्तो सन्देश दिएका हुन्। छलफलमा नबस्ने न्यायाधीशहरूमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन्।
गोलाप्रथाबाट पेसी तोक्नेबारेको पूर्ण बैठक (फुलकोर्ट)बाहेकका बैठकमा सहभागी नहुने रणनीतिका कारण बारसँगको बैठकमा सहभागी नभएको उनीहरूले बताएका छन्। बैठकमा सहभागी नहुने निर्णय गरेका एक न्यायाधीशका अनुसार अब गोलाप्रथाबाट पेसी तोक्नेबारेको फुलकोर्टबाहेकका अन्य बैठकमा पाँच न्यायाधीश सहभागी हुनेछैनन्।
नेपाल बारका पदाधिकारीले आन्दोलनका आगामी कार्यक्रमबारे साझा धारणा बनाउन न्यायाधीशहरूसँग छलफल गरेका थिए। बारका पदाधिकारीका अनुसार बैठकमा बारले आफ्नो प्रस्ताव न्यायाधीशहरूलाई सुनाएको थियो। बैठकबाट कुनै निर्णय भने भएको छैन। छलफलमा सहभागी सर्वोच्च अदालत बार एसोसियसनका सचिव ऋषिराम घिमिरेले बारले आफ्नो प्रस्ताव राखेको र मंगलबार फेरि छलफल गर्ने गरी बैठक सकिएको नयाँ पत्रिकालाई जानकारी दिए।
बारले प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नजान आग्रह गर्दै हिजो पत्र लेखेको थियो।