ओखलढुंगामा तीर्थयात्री बोकेको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । सोमबार बिहान चम्पादेवी ककनी दर्शन गर्दै एकादशी मेला भर्न जाने भक्तजन बोकेको प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो जिप सुनकोसी गाउँपालिका ९ को सिकारीडाँडामा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका– १० बेतिनी रुप्सेकी ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँकी अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर रहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए । थप एकजनाको उपचारको क्रममा ज्यान गएको भनिए पनि पुष्टि भने भइनसकेको प्रहरी प्रमुख काफ्लेको भनाइ छ ।
१८ जना सवार बोलेरो सडकबाट करिब ६ सय मिटर तल झरेको छ । दुर्घटनामा अन्य १५ जना घाइते भएको र घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडाैं पठाइएको सुनकोसी– ९ का वडाध्यक्ष झनककुमार कार्कीले बताए । दुर्घटनालगत्तै प्रहरी चौकी कोषहाट र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । अन्य घाइतेहरूको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
जिल्लाको सुनकोसी गाउँपालिका– ९ र चम्पादेवी गाउँपालिका– ९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भिड लाग्ने गरेको छ । एकादशीको अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुंगा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बुलगायतका स्थानबाट भक्तजनहरू आउने गरेका छन् ।