सम्हालिने प्रयासमा नेप्से सूचक

विकास बैंक समूहमा आकर्षित हुँदै लगानीकर्ता

सोमबार, २९ कार्तिक, २०७८
डिजिटल संस्करण

अघिल्लो हप्तासम्म उच्च करेक्सन हुँदै आएको नेप्से सम्हालिने प्रयासमा देखिएको छ । नेप्से सूचक साताको पहिलो कारोबारका दिन सुरुवातमा उच्च अंकले घट्दा पनि बिस्तारै सम्हालिएर सामान्य अंकले मात्र घटेर बन्द भएको हो । आइतबार नेप्से परिसूचक १ दशमलव ३८ अंकले घटेर दुई हजार ६ सय ८८ दशमलव ९२ बिन्दुमा पुगेको छ । दुई हजार सात सयमाथि अंक छोएर बजार बिस्तारै तल झरेको थियो । आगामी दिनमा बजार सम्हालिन सक्ने लगानीकर्ता बताउँछन् । करेक्सनको यहाँभन्दा बढी हुने संकेत अब नभएको भन्दै लगानीकर्ताको मनोबल उच्च रहेका कारणले नेप्से आगामी दिनमा सकारात्मक हुन सक्ने आधार रहेको टिप्पणी गर्न थालेका छन् ।

त्यस्तै ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्समा झिनो अंकले सुधार आएको छ । कारोबारमा आएका १३ वटा समूहका सूचकमा विकास बैंक र फाइनान्स समूहका सूचक सकारात्मक बनेका छन् । विकास बैंक समूहमा ३ दशमलव १८ अंकले सुधार रहेको छ भने फाइनान्स १ दशमलव १८ अंकले बढेर सकारात्मक बन्न पुगेको छ ।नेप्सेसँगै सेयर कारोबार रकममा पनि गिरावट आएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३० कम्पनीको ७४ लाख ३४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब नौ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सर्वाधिक कारोबार महालक्ष्मी विकास बैंकको २७ करोड ३९ लाख रुपैयाँको भएको छ । त्यस्तै, आइसिएफसी फाइनान्सको २४ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नबिल बैंक, लुम्बिनी विकास बैंक, साहस ऊर्जा, अरुण काबेली हाइड्रोपावर, अपि पावर कम्पनी, जलविद्युत् लगानी तथा विकास कम्पनी, ज्योति विकास बैंकको १६ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।

घटेको नेप्सेमा चारवटा कम्पनीले सर्वाधिक नाफा आर्जन गरेका छन् । बोटलर नेपाल तराई, मानुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले उल्लेख्य नाफा आर्जन सफल भएका छन् । यी कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ ।

बजारका गतिविधि
-लुम्बिनी विकास बैंकको लाभांश प्रस्तावमा संशोधन गरिएको छ । बैंकले यसअघि घोषणा गरेको लाभांशलाई राष्ट्र बैंकले संशोधन गर्न निर्देशन दिएपपछि बैंकले १३ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 
-ङादी ग्रुप पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले चुक्ता पुँजीको १ अनुपात २ (१ बराबर २) निष्कासन गर्ने प्रस्ताव गरेको छ । साथै, कम्पनीले ०७७/७८ को  मुनाफाबाट २१ दशमलव ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । 

See More On

सुझावित समाचार