नेपाल बार एसोसिएसनले आज पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ । बारले आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै छ । प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन चर्काउँदै लगेको हो ।
बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलियासँग साँठगाँठ गरेकाेलगायतका गम्भीर आरोप लागेका छन् ।
कानुन व्यवसायीहरूले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्नै नदिन मूल गेटमा धर्ना दिएका थिए । तर, जबरा अर्को गेटबाट कार्यालय प्रवेश गरेका थिए । प्रधानन्यायाधीशलाई कार्यालय प्रवेशमा रोक लगाउन आज पनि कानुन व्यवसायीहरूले सर्वोच्चको आँगनमा धर्ना जारी राखेका छन् ।
यसैबीच प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्नेहरू सर्वोच्चकाे मुख्य गेटबाहिरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीसहित करिब ६ जना छन् ।