इजरायलबाट कृषि विज्ञानको ज्ञान लिएर फर्किएका युवाहरूले लमजुङको दुराडाँडास्थित जल्केनी फाँटमा झन्डै तीन सय रोपनी क्षेत्रफलमा कृषिक्रान्ति सुरु गरेका हुन् । उनीहरूले आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी स्थापना गरेर एकीकृत कृषि फार्म सुरु गरेका हुन् । साना किसान विकास बैंकमार्फत आधुनिक कृषि प्रणालीबारे अध्ययन गर्न इजरायल पुगेका उनीहरूले १८ करोड लगानी गरेका छन् । विदेशको अध्ययन, प्रयोग र सीपका आधारमा कृषि पेसा सुरु गरेको कम्पनीका अध्यक्ष कृष्णप्रसाद बजगाईंले बताए । ‘हामीले ४२ जिल्लाका युवाहरूको सामूहिक प्रयासमा एकीकृत कृषि फार्म सुरु गरेका छौँ ।’ उनले भने, ‘प्राप्त ज्ञान र सीपका आधारमा मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि सहयोग गर्नेछौँ ।’
६८ विद्यार्थीसहित एक सय ४३ जनाको सामूहिक लगानी
दुराडाँडाको आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनीमा इजरायलमा अध्ययन गरी फर्किएका ६८ विद्यार्थीसहित कुल एक सय ४३ जनाले सामूहिक लगानी गरेका छन् । जसमध्ये इजरायलमा रहेका २४ जना नेपाली रहेका छन् । अहिले फार्ममा कुल ४६ जना कामदारले नियमित रूपमा काम गर्छन् । मरुभूमिमा हरिया तरकारी फलाउन सकिने प्रविधि सिकेकाले त्यहाँको प्रविधि अपनाउँदै नेपालमा कृषि परियोजना सञ्चालन गरिएको उनको भनाइ छ । फार्ममा १५ हजार लेयर्स तथा ब्रोइलर कुखुरा पालिएको छ भने ६० वटा दुधालु गाई छन् । कम्पनीका संस्थापक अध्यक्ष विनोद घिमिरेका अनुसार फार्मको १५ रोपनी क्षेत्रफलमा माछापालनका लागि पोखरीसमेत खनिएको छ । फार्ममा पाँच सय बाख्रा, ५० वटा बंगुर, पाँच रोपनीमा हाँस र स्थानीय जातका कुखुरा पाल्ने योजना पनि छ ।
डेरी उद्योगसमेत सञ्चालन
युवाहरू कृषिक्रान्तिसँगै दुग्धजन्य वस्तुको बजारीकरणमा समेत तल्लीन छन् । गाईको दूध र दूधबाट बन्ने ताजा परिकार उपभोक्तासम्म पुर्याउनका लागि डेरी उद्योगसमेत सञ्चालनमा ल्याएका छन् । उनीहरूले सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा एएनएमसी नामक डेरी उद्योग सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष बजगाईं बताउँछन् । उनका अनुसार कृषकको गोठदेखि उपभोक्ताको गोठसम्म पहुँच विस्तार गर्न उद्योग सञ्चालनमा ल्याइएको हो । उनीहरूले दूध, दही, मोही, घिउ, नौनी, पनिर, खुवालगायतका दुग्धजन्य वस्तुहरूको उत्पादन तथा बिक्री गर्दै आएका छन् । यसका साथै उद्योगले कृषकका घरमा भएको दूधसमेत खरिद गरी प्रमुख सहरहरूमा पठाउँदै आएको छ ।
कृषि पर्यटनको तयारी
इजरायलमा अध्ययन गरेर स्वदेश फर्किएका युवाहरू गाउँलाई कृषि पर्यटनसँग जोड्ने योजना रहेको बताउँछन् । कृषि फार्मलाई अध्ययन र घुम्नका लागि आउने गन्तव्यका रूपमा विकास गर्ने उनीहरूको भनाइ छ । कम्पनीले दक्ष जनशक्ति उत्पादनका लागि फार्ममा तालिमसमेत सञ्चालन गर्दै आएको छ । नेपाली सेनाले सैनिक कल्याणकारी कोषद्वारा सञ्चालन गरेको कृषि तालिम केन्द्रले सहायक कृषि प्राविधिकलाई प्रयोगात्मक अभ्यास तालिम र हिताधिकारी परिवारका सदस्यका लागि ‘लर्न एन्ड डू’ तालिमसमेत सञ्चालन गर्दै आइरहेको अध्यक्ष बजगार्इं बताउँछन् । गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पनि व्यावसायिक इन्कुवेसन सेन्टरमार्फत गण्डकी प्रदेशभित्रका १८ देखि ३५ वर्ष उमेर समूहका किशोर–किशोरीलाई लक्षित गरी सोही तालिम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
मरुभूमिमा तरकारी र फलफूल फलाएका युवाले कृषिमार्फत पर्यटन प्रवद्र्धन गर्नसमेत एकीकृत कृषि फार्म सञ्चालनमा ल्याएको युवाहरूको भनाइ छ ।‘व्यावसायिक कृषि र पशुपालनका अलावा कम्पनीले आधुनिक कृषि प्रणालीका बारेमा कृषकलाई तालिम दिँदै आएको छ,’ उनी भन्छन्, ‘हामीले आगामी दिनमा कृषि एकेडेमी खोल्नुका साथै देशकै नमुना कृषि पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ ।’