अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको डाइरेक्टर हुँ भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको डाइरेक्टर हुँ भन्दै ठगीमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारत चेन्नाई तामिलनाडुका ४४ वर्षीय शिवम विरुमुथु चेटियार पक्राउ परेका हुन् । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनले पोखरास्थित मणिपाल अस्पतालको सेयर मिलाई दिने भन्दै एक व्यक्तिसँग पचास लाख रुपैयाँ ठगी गरेका थिए । बिक्रीका निम्ति भारतीय सेयर होल्डरहरूसँग कुराकानी भएको र उनीहरू सम्झौता गर्न तयार भएको भन्दै उनले एग्रिमेन्टको नक्कली ड्राफ्ट नै बनाएका थिए । सोही ड्राफ्ट देखाउँदै उनले धेरै पीडितबाट करोड रुपैयाँभन्दा धेरै ठगी गरेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए । 

उनले भने, ‘यसले आफूलाई अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको डाइरेक्टर हुँ भन्दो रहेछ । सोही आवरणमा माथिल्लो ओहदाका मान्छेसँग सम्बन्ध बनाउने रहेछ । मणिपाल अस्पतालको सेयर मिलाइदिने भन्दै रकम असुल्ने रहेछ । यसैगरी यसले धेरैजनाबाट करोडौ रुपैयाँ ठगी गरेकोे सूचना आएको छ । अनुसन्धान जारी छ ।’

प्रहरीका अनुसार शिवमले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको नक्कली कार्ड बनाएका छन् । विभिन्न कम्पनीको नक्कली सेयर होल्डर प्रमाणपत्र बनाएका छन् । विभिन्न नाममा कम्पनी दर्ता गर्ने, सोही नाममा बैंकमा खाता खोल्ने र खातामा करोडौँ रुपैयाँ रहेको भन्दै नक्कली बैक स्टेटमेन्ट बनाउने उनको खास धन्दा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

सोही कागजातका आधारमा उनले विभिन्न व्यक्तिको जग्गाधनी पुर्जासमेत नियन्त्रणमा लिने गरेको महाशाखाका एसपी कोइरालाले बताए ।  उनले भने, ‘यसले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको नक्कली परिचयपत्र बनाएको छ । सोही तवरले सेयरधनीको कागजात र  बैंक स्टेटमेन्टसमेत नक्कली बनाएको छ । त्यसैको आधारमा यसले सर्वसाधरण ठग्दै आएको देखिन्छ । पीडित आउने क्रम जारी छ । ठगी गरेको रकम बढ्न सक्छ ।’

प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिबाट नागरिकताको फोटोकपी लिने, सोही नामबाट बैंकमा खाता खोल्ने र ठगी गरेको रकम सोही खातामा जम्मा गर्ने गरेका थिए । उनले यसअघि विभिन्न व्यक्तिलाई विदेश  पठाइदिने भन्दै ठगी गर्ने गर्थे । यस अभियोगमा उनी २२ जेठ ०७२ मा पक्राउ परेका थिए । वैदेशिक रोजगारीसम्बन्धी कसुरमा उनलाई अदालतले दुई वर्ष कैद र तीन लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । आदेशअनुसार उनले कैद सजाय  डिल्ली बजार कारागारमा भुक्तान गरेका थिए । 

कारागारबाट छुटेपछि पनि उनले ठगी धन्दालाई जारी राखेका थिए । ठगी गरेको रकम फिर्ता दिने आस्वासन जारी नै राखेको हुँदा पीडित अझै पनि जाहेरी बोकेर प्रहरी कार्यलय नआएको महाशाखाका एसपी कोइरालाले बताए ।

सुझावित समाचार