गौरीगंगा र कन्काई सेमिफाइनलमा

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

गौरीगंगा नगरपालिका कैलाली र कन्काई नगरपालिका झापा उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट चरणको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा गौरीगंगाले रोङ गाँउपालिका इलामलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ को गोल गरेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको २६औँ मिनेटमा रोङ गाउँपालिकाकी अनिता राईले सुरुवाती अग्रता गोल गरिन् । पहिलो हाफमा रोङगाउँपालिका एक गोलले नै अगाडि रह्यो । मध्यान्तरपछि गौरीगंगाले खेलमा सुधार ल्यायो । खेलको ६८औँ मिनेटमा तुलसा बोहोराले गौरीगंगालाई १–१ बराबरीमा ल्याइन् । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो ।

अर्को खेलमा कन्काई नगरपालिका झापाले गोदावारी नगरपालिका कैलालीलाई ३–० ले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो । कन्काईको जितमा कुसुम खतिवडाले दुई तथा इमा राईले एक गोल गरिन् । सबै गोल पहिलो हाफमा नै भयो । उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट चरणको सेमिफाइनल समीकरण पूरा भएको छ । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।सेमिफाइनलमा कन्काई नगरपालिका र ललितपुर महानगरपालिकाबीच पहिलो खेल हुनेछ । 

धनगढी उपमहानगरपालिकाले गौरीगंगा नगरपालिकाको सामना गर्नेछ । सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछ । फाइनल आइतबार हुनेछ ।प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख पाउनेछन् । फेयर प्ले टोली र प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेले समान २० हजार रुपैयाँ जित्नेछन् ।

सुझावित समाचार