न्युजिल्यान्ड पहिलोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । न्युजिल्यान्डले बुधबार पूर्वविजेता इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । अब न्युजिल्यान्डले बिहीबार पाकिस्तान र अस्ट्रेलियाबीचको विजेताविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । प्रत्युत्तरमा न्युजिल्यान्डले १९ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६७ रन जोड्यो ।
जितसँगै न्युजिल्यान्डले सन् २०१९ को विश्वकप फाइनलमा इंग्ल्यान्डसँग व्यहोरेको नमीठो हारको बदलासमेत लिएको छ । न्युजिल्यान्डको जितमा म्यान अफ दी म्याच ओपनर डार्यल मिचेलले विस्फोटक ब्याटिङ गरेका थिए । उनले ४८ बलमा समान चार चौका र छक्का प्रहार गरी सर्वाधिक ७३ रनको नटआउट इनिङ्स खेलेका थिए । इनिङ्सको १८औँ ओभरमा २० रन जोड्दै न्युजिल्यान्डले ६ बलअघि नै फाइनल स्थान सुरक्षित ग¥यो । न्युजिल्यान्डले अन्तिम १८ बलमा ५७ रन रन जोडेको थियो । कमजोर सुरुवात गरेको न्युजिल्यान्डका लागि डेभोन कोन्य तथा जेम्स निसिमले विस्फोटक ब्याटिङ गर्दै जितको आधार बनाए । डेभोनले ३८ बलमा पाँच चौका र एक छक्का लगाउँदै ४६ रन जोडे ।
निसिमले केवल ११ बलमा तीन छक्का र एक चौकाको सहयोगमा २७ रन बटुलेका थिए । निसिम र मिचेलबीच पाँचौँ विकेटका लागि १५.१ देखि १७.६ ओभरमा ४० रनको साझेदारी भएको थियो । यसैगरी मिचेलले डेभोनसँग तेस्रो विकेटका लागि ८२ रनको बलियो साझेदारी गरेका थिए । यसअघि टस हारी पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले सुरुवात उत्कृष्ट बनायो । ओपनर जोस बटलर र जोनी बैरिस्टोले पहिलो विकेटका लागि ५.१ ओभरमा ३७ रनको सझेदारी गरेका थिए । इंग्ल्यान्डले पहिलो विकेटका रूपमा जोनीलाई गुमायो । एडम मिल्नेको ओभरमा केन विलियम्सलाई क्याच दिनुअघि जोनीले १७ बलमा १३ रनको योगदान दिए । चालू विश्वकपमा जोनीले पहिलोपटक ओपनिङ गर्न अवसर पाएका हुन् ।
बटलरले डेभिड मालानसँग दोस्रो विकेटका लागि १६ रनको मात्र साझेदारी गरे ।उत्कृष्ट फर्ममा रहेका बटलरले आफ्नो विकेट इस सोधीलाई दिए । सोधीको बलमा स्विप प्रहार गर्ने चक्करमा उनी एलबिडब्लू आउट भए । बटलरले २५ बलमा चार चौकाको सहयोगमा २९ रनको योगदान दिए । धर्मराएको मध्यक्रममा इंग्ल्यान्डको ब्याटिङ इनिङ्सलाई डेभिन मालान र मोइन अलीले सम्हाले । दुवै ब्याट्सम्यानले न्युजिल्यान्डको धारिलो बलिङ आक्रमणविरुद्ध संयमित ब्याटिङ गरेका थिए ।
मालान र अलीबीच तेस्रो विकेटका लागि ६३ रनको साझेदारी भयो । यी दुवै ब्याट्सम्यानले इंग्ल्यान्डलाई ५३–२ बाट ११६–३ को सुदृढ अवस्थामा पु¥याए । मालानले आफ्नो विकेट सोधीलाई दिए । मालानले ३० बलमा एक छक्का र चार चौकाको सहयोगमा ४१ रन बटुले । अलीले लिआम लिभिन्स्टोनसँग आक्रमक ब्याटिङ गर्दै चौथो विकेट निमित्त १५.२ देखि १९.२ ओभरसम्म ४० रनको साझेदारी गर्न सफल भए । लिआमले १० बलमा समान एक चौका र छक्का प्रहार गरी १७ रन बनाए ।
इंग्ल्यान्डको ब्याटिङमा एकमात्र अर्धशतकीय इनिङ्स अलीले खेले । उनले इनिङ्सको अन्तिम ओभरमा आफ्नो ५० रन पूरा गरेका हुन् । अलीले ३७ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ५१ रन बनाए । न्युजिल्यान्डको बलिङमा टिम साउथी, एडम मिल्ने, इस सोधी तथा जेम्स नसिमले समान एक–एक विकेट हात पारे । न्युजिल्यान्डका मुख्य बलर ट्रेन्ट बोल्ट इंग्ल्यान्डविरुद्ध असफल भए । उनले चार ओभरमा ४० रन खर्चे । बोल्ट विकेटविहीन भएका छन् ।
अस्ट्रेलियाले पाकिस्तानको सामना गर्ने
आइसिसी टी–२० विश्वकपअन्तर्गत बिहीबार पूर्वविजेता पाकिस्तानले अस्ट्रेलियाको सामना गर्दै छ । चालू विश्वकपमा एक मात्र अपराजित टोली पाकिस्तान हो । सुपर १२ को समूह २ मा १० अंक जोड्दै पाकिस्तानले सहजै सेमिफाइनल स्थान बनाएको हो । समूह १ मा अस्ट्रेलिया उपविजेता रहँदै अन्तिम चारमा पुगेको हो । रनरेटमा दक्षिण अफ्रिकालाई पछि पार्दै अस्ट्रेलियाले पाकिस्तानविरुद्धको खेल पक्का पारेको हो ।
लगातार पाँच खेलमा जित निकाली उत्कृष्ट फर्ममा रहेको पाकिस्तानविरुद्ध अस्ट्रेलियाले सेमिफाइनलमा विशेष रणनीति अपनाउनुपर्ने देखिन्छ । एकदिवसीय विश्वकपका सर्वाधिक विजेता अस्ट्रेलियाले अहिलेसम्म आइसिसी टी–२० विश्वकप जित्न सकेको छैन । अस्ट्रेलियाको नजर पाकिस्तानलाई निराश पार्दै फाइनल पुग्ने हुनेछ । पाकिस्तानको तेस्रोपटक फाइनल नजर रहेको छ ।
पाकिस्तानका युवा फास्ट बलर साहिन साह अफ्रिदी उत्कृष्ट फर्ममा रहँदा अस्ट्रेलियन ओपनर दबाबमा पर्न सक्छन् । सुरुवाती पावर प्लेमा अफ्रिदी अहिलेसम्म घातक बनिरहेका छन् । बाबर अजामले विश्वकपमा जादूमयी ब्याटिङ गरिरहेका छन् । समूह १ मा पाँचमध्ये चार खेलमा बाबरले अर्धशतकीय इनिङ्स खेलेका छन् । पाकिस्तानका भेट्रान अलराउन्डर सोएब मलिकले समूहको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध ५४ रनको विस्फोटक इनिङ्स खेलेका थिए । पाकिस्तानले इनिङ्सको अन्तिम ओभरतिर मलिकको साथ पाउने सम्भावना छ । अस्ट्रेलियाले भेट्रान बायाँहाते ब्याट्सम्यान डेभिड वार्नर फर्ममा आउँदा सास फेरेको छ । उनलाई साथ दिन आरोन फिन्च, मिचेल मार्स, स्टिभ स्मिथ तथा ग्लेन म्याक्सवेल रहेका छन् ।