गणेशमान सिंहको १०७औँ जन्मजयन्ती मनाइँदै

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रजातन्त्र पुनर्स्थापनाका लागि वि.सं. २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।  ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेका थिए । 

वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका उनको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले वि.सं. १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । 

राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । वि.सं. २००७ अघि नै भद्रगोल जेल फोडेर भाग्न सफल भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ वि.सं. २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

 गणेशमानजयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ ।

सुझावित समाचार