फरएभर म्यानपावरले तीन लाखसम्म असुलेर भिजिट भिसामा युएई उडाएका २० नेपाली अलपत्र

मंगलबार, २३ कार्तिक, २०७८
डिजिटल संस्करण
फरएभर म्यानपावरले तीन लाखसम्म असुलेर भिजिट भिसामा युएई उडाएका २० नेपाली अलपत्र

युएईको अजमान सहरस्थित एनआरएनएको सेल्टरमा अलपत्र नेपाली कामदार

गत ३१ असोजमा कैलालीका चन्द्र बोहरा वैदेशिक रोजगारीका लागि दुबई गए । उनलाई पठाउने फरएभर ह्युमन रिसोर्स सोलुसन कम्पनीका एजेन्ट सुरज राई विमानस्थलमै आइपुगे । उनले नेपालबाट गएका बोहरासहित ६ जनासँग एक–एक हजार उठाए र कम्पनीको मान्छे लिन आउने भन्दै गए । 

राईले भनेजस्तै केही समयपछि पाकिस्तानी एजेन्ट फैजन आयो । उसले सबैजनालाई कम्पनीको क्वारेन्टिन भन्दै एउटा कोठामा लगेर राख्यो । तर, १० दिन बितिसक्दा एजेन्ट नफर्किएपछि खानाको अभाव भयो । उनीहरू आफ्ना चिनजानका साथीहरूमार्फत नेपाली जनप्रगतिशील मोर्चाको सम्पर्कमा पुगे । मोर्चाले उनीहरूलाई खाना उपलब्ध गरायो । तर, भोलिपल्ट भाडा नतिरेको भन्दै घरबेटीले निकालिदियो । अन्त्यमा, दुबईस्थित गैरआवासीय नेपाली संघले उनीहरूलाई अजमान भन्ने ठाउँमा खाने–बस्ने व्यवस्था गरेको छ ।

कैलालीकै ३१ वर्षीय विष्णु चौधरी पनि दुबई पुगेको एक महिनाभन्दा बढी भयो । कतार जाने प्रक्रियामा रहेका उनलाई फरएभर म्यानपावरले दुबई पुर्यायो । विमानस्थलमा उनलाई भेट्न पनि म्यानपावर कम्पनीले भनेजस्तै पहिला नेपाली एजेन्ट सुजन राई नै आयो । उसले चौधरीसहित ६ जनासँग डलर लिएर हिँड्यो । केही समयपछि पाकिस्तानी एजेन्ट आए । कम्पनीको क्वारेन्टिन भन्दै कोठामा राखेको उनले फोनमार्फत नयाँ पत्रिकालाई जानकारी दिए । तर, १५ दिनसम्म पनि कोही सम्पर्कमा नआएपछि उनीहरूलाई पनि घरबेटीले निकालिदियो । उनीहरूलाई गैरआवासीय संघले अजमानमा खाने र बस्ने व्यवस्था गरिदिएको छ । 

धरानका २७ वर्षीय विजय खड्का वैदेशिक रोजगारीकै क्रममा म्यानपावर कम्पनीमार्फत दुबई पुगेको ४८ दिन भइसकेको छ । तर, अहिलेसम्म म्यानपावर कम्पनीले उनलाई काम दिएको छैन । खड्कासहित दुबई पुगेका आठजनालाई पाकिस्तानी एजेन्टले कम्पनीको क्वारेन्टिन भन्दै कोठामा छोडेर भागेको छ । घरबेटीले निकालेपछि अहिले उनीहरू पनि एनआरएनको सेल्टरमा छन् । 

म्यानपावरले २० जनालाई दुबईमा अलपत्र बनायो
काठमाडौंको टोखा सरस्वतीस्थित फरएभर रिसोर्स सोलुसन म्यानपावर कम्पनीले २० जना युवालाई दुबईमा अलपत्र पारेको छ । आकर्षक आम्दानीको प्रलोभन देखाई भिजिट भिसामा दुबई पु¥याएको पीडितहरूको आरोप छ । 

कोरोना महामारीका कारण युएई सरकारले करिब डेढ वर्ष विदेशी कामदारलाई प्रवेशमा रोक लगाएको थियो । तर, अर्धसरकारी कम्पनीका लागि भने खुला गरेको वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले बताए । उनका अनुसार गत भदौदेखि भने युएई सरकारले कामदार प्रवेश खुला गरेको छ । यद्यपि, कुनै पनि म्यानपावर व्यवसायीले भिजिट भिसामा कामदार पठाउन भने नपाउने उनको भनाइ छ । 

तीन लाखसम्म ठग्यो म्यानपावरले
म्यानपावर कम्पनीले आकर्षक आम्दानीको लोभमा युवाहरूबाट एक लाख २७ हजारदेखि तीन लाखसम्म ठगेको पाइएको छ । तर, सरकारले भने वैदेशिक रोजगारीलाई निःशुल्क बनाएको छ । कैलालीका तिलक साउदले फरएभर रिसोर्स सोलुसन म्यानपावर कम्पनीलाई दुबई रोजगारीका लागि एक लाख २७ हजार दिएको बताए । भिसा प्रक्रियाका लागि भन्दै साउदले सुरुमै ३० हजार कम्पनीलाई बुझाएका थिए । ‘म्यानपावर कम्पनीले राम्रो कामको माग आएको भन्दै अचानक हामीलाई काठमाडौं बोलायो । काठमाडौं आएको पाँच दिनमा नै भिसा आएको कम्पनीले बतायो । तत्काल उड्नुपर्ने भएपछि हामीले घरबाट पैसा मगाएर कम्पनीलाई बुझायौँ,’ उनले भने । 

त्यस्तै, कैलालीकै चन्द्र बोहराबाट म्यानपावर कम्पनीले दुई लाख १० हजार असुलेको उनले बताए । साउदी अरब गइसकेका उनलाई यति धेरै रकम लाग्दैन भन्ने पनि थाहा थियो । ‘तर, एजेन्ट आफ्नै मान्छे थियो । मेरो विश्वास लाग्दैन भनेर भन्न थाले । के गर्नु, आफन्तलाई कसरी विश्वास नगर्नु,’ उनले भने । 

कैलालीकै विष्णु चौधरीले दुई लाख ५० हजार म्यानपावरलाई बुझाएको बताए । ‘आफूसँग त थिएन । तैपनि राम्रो आम्दानी हुन्छ भनेपछि ऋणधन गरेर पैसा बुझाएँ,’ उनले भने । धरानका विजय खड्काले भने म्यानपावर कम्पनीलाई एक लाख ७५ हजार रुपैयाँ बुझाएको बताए । 

आफ्नैबाट ठगिए युवाहरू 
वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार आफन्तबाट नै ठगिने गरेको पाइएको छ । खड्काको मीतकाका पर्ने करन चाम्लिङले जुत्ता प्याकिङ गर्ने काम भन्दै उनलाई दुबई पठाएका थिए । ‘काकाले १७ सय रियाल तलब छ । कम्पनीको मान्छे एयरपोर्टमा लिन आउँछ । एक हप्ता क्वारेन्टिन बस्नुपर्छ । त्यसपछि काम सुरु हुन्छ भनेका थिए,’ उनले भने । खड्कालाई उड्ने वेलासम्म भिजिट भिसा भन्ने थाहा थिएन । ‘अन्तिम समयमा थाहा पाएपछि मैले भिजिट भिसामा जान्नँ पनि भनेको थिएँ । आफ्नै मान्छेले नै फसाउने रहेछ,’ उनले गुनासो गरे ।

त्यस्तै, कैलालीका तिलक साउदलाई पनि छिमेकी विशाल नेपालीले फसाएका थिए । ‘विशाल हाम्रो छिमेकी हुन् । सानैदेखिको चिनजान छ । कसरी विश्वास नगर्नु,’ उनले भने । कैलालीकै विष्णु चौधरीलाई चिनजानकै राजीव क्षेत्रीले फसाए । फुड प्याकिङ कम्पनी हो भन्दै उनले चौधरीलाई भिजिट भिसामा दुबईमा अलपत्र पारे ।

मेरो संलग्नता भेटिए सजाय भोग्छु : भीम राई 
सञ्चालक, फरएभर ह्युमन रिसोर्स सोलुसन म्यानपावर 

यसमा मेरो व्यक्तिगत संलग्नता केही छैन । मैले पनि समाचारमा आएपछि थाहा पाएको हुँ । त्यसैले मैले ती भाइहरूसँग सम्पर्क गरेँ । तर, उनीहरूको माग उच्च छ । त्यसैले यो समस्या समाधान गर्न कठिन छ । यद्यपि, यसमा मेरो संलग्नता भएको भेटिएमा सजाय भोग्न तयार छु । 


म्यानपावरले भिजिट भिसामा कामदार पठाउन पाउँदैन : मेघनाथ भुर्तेल, सचिव, वैैदेशिक रोजगार व्यवसायी संघ
हामीले दुबईको भिजिट भिसाको विरुद्धमा धेरै आवाज उठाएका छौँ । यसलाई रोक्नुपर्छ भनेर पनि सरकारलाई आग्रह गरेका छौँ । कुनै पनि म्यानपावर व्यवसायीले भिजिट भिसामा कामदार पठाउन पाउँदैन । यदि कसैले जानजान पठाउँछ भने त्यसको जिम्मेवार कम्पनी नै हुन्छ ।

मानव तस्करको जालो एयरपोर्टमै सेटिङ
वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलकाअनुसार दैनिक हजारौँ युवा भिजिट भिसामा वैदेशिक रोजगारीका लागि बिदेसिने गरेका छन् ।  महामारीमा यस्तो क्रम अधिक थियो । तर, भिजिट भिसामा जाने कामदारहरू दुबईमा अलपत्र पर्न थालेको समाचार आउन थालेपछि वैदेशिक रोजगार विभागले कडाइ गरेको भुर्तेलले बताए । विभागले सूचना नै जारी गरी दुबई भिजिट भिसामा नजानसमेत आग्रह गरेको थियो । त्यस्तै, वैदेशिक रोजगार व्यवसायी संघले पनि सरकारलाई दुबईका लागि भिजिट भिसा बन्द गर्नसमेत आग्रह गरेको थियो । 

विभागले भिटिज भिसालाई निरुत्साहित गरे पनि विमानस्थलका कर्मचारीको सेटिङमा कामदार दुबई जाने गरेको संघका सचिव भुर्तेलले बताए । कैलालीका चन्द्र बोहराले विमानस्थलमा फरएभर म्यानपावरले सेटिङ गरेको बताए । ‘मैले भिजिट भिसामा जान्नँ भन्दा, केही समस्या हुँदैन भनेका थिए,’ उनले भने । विमानस्थलमा पनि कुनै सोधपुछ नभएको उनले बताए । 

सुझावित समाचार