५७ प्रतिशत कर्जा लगानी बागमती प्रदेशमा

सोमबार, २२ कार्तिक, २०७८
डिजिटल संस्करण

बागमतीकेन्द्रित बैंक तथा वित्तीय संस्थाहरूको कारोबारमा खासै सुधार हुन नसकेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययनअनुसार पुस ०७७ मा बैंक तथा वित्तीय संस्थामा बागमती क्षेत्रबाटै ६८ प्रतिशत निक्षेप संकलन र ५६ दशमलव ६ प्रतिशत कर्जा लगानी भएको छ । मुलुकको संघीय संरचनामा वित्तीय क्षेत्रको स्रोत परिचालन नामक अध्ययनअनुसार यो अवधिमा बैंक तथा वित्तीय संस्थाको ४२ खर्ब निक्षेप संकलन र ३६ खर्ब कर्जा लगानी छ ।

यसमध्ये बागमती प्रदेशमा मात्रै २९ अर्ब निक्षेप संकलन र २० खर्ब कर्जा लगानी भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम निक्षेप संकलन र कर्जा लगानी भएको देखिन्छ । यो क्षेत्रमा निक्षेप संकलन र कर्जा लगानी दुवै चार अर्बमा सीमित छ । बैंकहरूको प्रतिशाखा जनसंख्याका आधारमा सबैभन्दा धेरै पहुँच गण्डकी प्रदेशवासीले पाएका छन् । सो प्रदेशमा एक हजार सातजनालाई एउटा शाखाले सेवा दिइरहेको छ । जबकि कर्णाली प्रदेशका चार हजार पाँच सय ३६ जनाले एउटा शाखा प्रयोग गर्नुपरिरहेको छ । डिजिटल बैंकिङ प्रणाली उपलब्धतामा पनि बागमती प्रदेश अगाडि छ । यो क्षेत्रका तीन लाख ३० हजारका लागि एउटा पिओएस (प्वाइट अफ सेल) टर्मिनल उपलब्ध छ । अर्थात्, यहाँका प्रति १० हजार मानिसहरूका लागि ३० वटा पिओएस उपलब्ध छ । जबकि कर्णालीका ७९ लाख ७३ मानिसका लागि बल्ल एउटा पिओएस टर्मिनल प्राप्त छ । 

 कमजोर अध्ययन 
राष्ट्र बैंकको अध्ययनले निक्षेप संकलन र कर्जा लगानीको तथ्यांक बैंकहरूका सम्बन्धित शाखाबाट लिएका छन् । यही कारण एउटा शाखा वा केन्द्रबाट प्रवाह भए पनि अर्को क्षेत्रमा प्रयोग हुन सक्ने कर्जालगायतको विवरणलाई भने  अध्ययनले छुट्याएको छैन । ‘बैंकहरूको शाखा रहेको क्षेत्रबाट भएको कारोबारको तथ्यांकलाई यो अध्ययनले लिएको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसैले यदि अन्तरप्रदेश कुनै कारोबार भएको भए त्यस्तो तथ्यांक यसमा छुट्याइएको छैन ।’

बैंक तथा वित्तीय संस्थामा आउने निश्चित रकमभन्दा माथिको कर्जाको स्वीकृति केन्द्रीय कार्यालयबाट हुने गर्छ । धेरैजसो संस्थाको मुख्य कार्यालय बागमतीकेन्द्रित हुने भएकाले पनि यो क्षेत्रको हिस्सा बढाउन पनि यसले सहयोग गरेको हुन सक्छ । जसलाई भने अध्ययनमा छुट्याएर अध्ययन हुन सकेको देखिँदैन । 

लघुवित्तले फेर्दै छन् वित्तीय पहुँचको दृश्य 
बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक)हरू बागमती प्रदेशकेन्द्रित रहिरहँदा लघुवित्तहरूले सानै परिमाणमा भए पनि यो परिदृश्य फेर्न सहयोग पुर्याइरहेको देखिन्छ । एक खर्ब १३ अर्ब निक्षेप संकलन गरेका लघुवित्तहरूको मुख्य स्रोत लुम्बिनी र प्रदेश २ छन् । लुम्बिनीबाट करिब २८ र प्रदेश २ बाट करिब २२ प्रतिशत निक्षेप संकलन हुने गरेको छ । त्यस्तै, कर्जा लगानीमा पनि यही प्रवृत्ति देखिन्छ । लुम्बिनीमा २२ दशमलव ४ र प्रदेश २ मा करिब २६ प्रतिशत लगानी केन्द्रित छ ।

See More On

सुझावित समाचार