सोलुखुम्बुस्थित मेरापिक हिमाल आरोहण गरी फर्कने क्रममा एक आरोहीको मृत्यु भएको छ । बेलायती नागरिक फ्लायन एलेक्जेन्डर कृस्टियानाको मृत्यु भएको हो ।
उनी गत १० कात्तिकमा मेरापिक हिमाल चढ्न गएका थिए । ६,४७४ उचाइको आरोहण सकेर फर्कने क्रममा करिब ५ हजार ८ सय मिटरको उचाइमा रहेको हाइक्याम्प क्षेत्रमा उनी लडेका थिए ।
उपचारका लागि कैलाश एयरको हेलिकोप्टरमार्फत लुक्लास्थित पासाङल्हामु अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।