आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बंगलादेशमा एक साता तयारी गर्नेछ ।
बंगलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीले २५ कात्तिकमा बंगलादेशमा अभ्यास गर्नेछ ।
टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी र संगीता राई रहेका छन् ।
यस्तै सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ । नेपाली टोलीको प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापकमा जयन्ती भट्ट रहेका छन् ।
आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आगामी ३ देखि १३ मंसिरमा युएईमा हुनेछ । प्रतियोगितामा नेपालसहित युएई, भुटान, कुवेत, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले पहिलो खेल ६ मंसिरमा हङकङसँग, दोस्रो खेल ७ मंसिरमा भुटानसँग, तेस्रो खेल ९ मंसिरमा कुवेतसँग, चौथो खेल १० मंसिरमा मलेसियासँग तथा पाँचौँ खेल १२ मंसिरमा युएईसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ ।