पाकिस्तानद्वारा चीनलाई २६ अर्ब ब्याज भुक्तान

बिहिबार, १८ कार्तिक, २०७८
डिजिटल संस्करण

पाकिस्तानले पछिल्लो वर्ष चीनबाट लिएको साढे चार अर्ब अमेरिकी डलर (३० अर्ब युयान) ऋणको ब्याज मात्रै २६ अर्ब रुपैयाँ तिरेको छ । स्टेट बैंक अफ पाकिस्तानले यो तथ्यांक सार्वजनिक गरेको हो । पाकिस्तानले चीनबाट ऋण थपेर साउदी अरेबियाबाट ल्याएको ऋण तिरेको हो ।

पाकिस्तानमा विपक्षी दलहरूले सरकारी असफलताका रूपमा व्याख्या गर्दै चीनसँग सरकारले यति ठूलो रकम ब्याज तिर्नुपरेको टिप्पणी गरेका छन् । सन् २०२०–०२१ को ऋणबापतकाे ब्याज मात्रै २६ अर्ब १ करोड रुपैयाँ रहेको पाकिस्तानी स्टेट बैंकको तथ्यांक छ ।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत पाकिस्तानले ऋण लिएको छ । पाकिस्तानमा चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) बिआरआईअन्तर्गत चिनियाँ ऋणबाट निर्माण कार्य भइरहेको छ । बिआरआईअन्तर्गत चीनले विभिन्न मुलुकलाई तीन अर्ब ८५ अर्ब अमेरिकी डलर ऋण प्रवाह गरिसकेको छ । कतिपय मुलुकहरू ऋणको चर्को ब्याजमा परेर परियोजना नै चीनलाई हस्तान्तरण गर्ने अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले अन्तर्राष्ट्रिय वित्त बजारमा आफ्नो प्रभुत्व कायम गर्न सहायता नभएर ऋण प्रवाह गरिरहेको आरोप छ । चीनले भने साझा भविष्य निर्माणका लागि मुलुकहरूसँग अर्थपूर्ण सहकार्य गरिरहेको र ऋण पनि साझा भविष्य निर्माणको एउटा पक्ष रहेको बताउँदै आएको छ । 

सुझावित समाचार