सयपत्री र मखमलीको माला छोइनसक्नु, किसानबाट सस्तोमा किनेर महँगोमा बेच्छन् बिचौलिया

बुधबार, १७ कार्तिक, २०७८
डिजिटल संस्करण

किसानले फूल फुलाएको ठाउँमै पुगेर एउटा माला खरिद गर्दा ४० देखि ५० रुपैयाँसम्म पर्छ। एक किलो फूल दुई सयसम्म किन्न सकिन्छ। फ्लोरिकल्चर एसोसिएसनले सयपत्री मालाको मूल्य ५० देखि सय रुपैयाँसम्म तोकेको छ। तर, त्यही माला बजारमा गएर किन्दा व्यवसायीले डेढ सयभन्दा घटीमा दिँदैनन्। माला नउने एक किलो फूल किन्दा ६ सयभन्दा बढी तिर्नुपर्छ। अझ तिहारको अघिल्लो दिन त व्यापारीहरूले ढाडै सेक्ने गरी महँगो भन्छन्। एउटै मालालाई तीन सयसम्म तिर्नुपर्छ।

तिहार नजिकिँदै गर्दा बजारमा फूल र माला किन्नेको भिड बढेको छ। व्यापारी र घरधनीले घर तथा पसलको ढोका सजाउन माला खरिद गर्छन्। भाइ तथा दाइलाई लगाइदिन दिदीबहिनी माला तथा फूल किन्न बजारमै पुग्छन्।  तर, तिहार मनाउन नभइनहुने फूल–मालाको मूल्य भने निकै आकासिएको छ। व्यापारीहरूको मनपरीका कारण तिहारमा फूल–मालाको मूल्य छोइनसक्ने अवस्थामा पुगेको हो। 

नेपालमा तिहारको वेला फूलको अभाव हुन नदिन भारतबाट सयपत्री माला ल्याइन्छ। उक्त माला तथा फूल पुष्प व्यवसायीहरूले ल्याउँछन्। व्यवसायीहरूका अनुसार हरेक वर्ष १५ देखि २० प्रतिशतका दरले नेपालमा फूल र मालाको माग बढेको देखिन्छ। तर, उत्पादन क्षमता भने बढेको छैन। स्वदेशमै पर्याप्त फूल उत्पादनमा सरकारले चासो नदिँदा फूलमालामा समेत अन्य देशको भर पर्नुपर्ने बाध्यता आइलागेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का महासचिव विश्वमणि पोख्रेलले जानकारी दिए। 

उनका अनुसार नेपालमा वार्षिक रूपमा ४० लाख माला उपत्पादन हुन्छ। खपत पनि त्यति नै हुन्छ। तिहारको वेलामा मात्रै १८ लाख ६५ हजार हाराहारी माला आवश्यक पर्छ। उक्त माग नेपालमै उत्पादित फूलले धान्न सक्दैन। तिहारको वेलामा साढे दुई लाख सयपत्री माला भारतबाट ल्याउनुपर्ने अवस्था छ। अपुग हुने सयपत्री माला भारतबाट व्यवसायीले ल्याउँछन्। ‘हरेक वर्ष फूलको माग बढ्दै गइरहेको छ, असार साउन, भदौ र असोजमा भारतबाट सयपत्री आउँदैन, अन्य महिनामा भने थोरैधेरै सयपत्री आयात गरिन्छ,’ महासचिव पोख्रेलले भने, ‘भारतबाट सयपत्री ल्याउन सजिलो छ, त्यहाँबाट सस्तोमा ल्याएर व्यापारीले महँगोमा बेच्छन्।’ उनले उन्नत जातको बिउबिजन, तालिम, अनुदानका साथै नयाँ प्रविधि ल्याउन सके फूलमा आत्मनिर्भर बन्न सकिने बताए। तिहारको वेला उपत्यकामा १० लाख र आठ लाख हाराहारी उपत्यकाबाहिरका सहरमा मालाको खपत हुने उनको भनाइ छ। तर, व्यापारीहरूले भने मनपरी रूपमा फूल बेचिरहेका छन्। 

मखमली निर्यात, गोदावरी पुग्दो, सयपत्री अपुग
मखमली र गोदावरी फूलमा भने नेपाल आत्मनिर्भर छ। तिहारको वेलामा डेढ लाख मखमली फूलका माला भारतमा निर्यात हुन्छ। नेपालमा उत्पादित मखमली फूलको माला अमेरिका, जापान, भारत, अस्ट्रेलियालगायत देशमा निर्यात हुने गरेको हो। त्यस्तै, तिहारको वेलामा १५ हजार गोदावरी उपत्पादन हुन्छ। अन्य फूलको प्रयोग बढी हुने भएकोले गोदावरीको थोरै उत्पादनले पनि धान्ने व्यवसायीहरूको भनाइ छ। त्यस्तै, तिहारको वेलामा बढी प्रयोग हुने सयपत्री भने आयात हुँदै आएको छ। 

गाउँ आत्मनिर्भर, सहरकाले किन्छन् 
तिहारको वेला व्यावसायिक रूपमा उत्पादन भएको तथा भारतबाट खरिद गरिएको फूल सहरी क्षेत्रका लागि मात्रै हो। गाउँगाउँमा भने फूलमा माग देखिँदैन। घरैपिच्छ आफूलाई आवश्यक पर्ने फूल ग्रामीण क्षेत्रमा रोपिँदा सहरी क्षेत्रमा मात्रै ‘कमर्सियल’ माला आयात गरिन्छ। सहरमा तिहार मात्रै होइन, अन्य समयमा पनि फूलको माग बढ्दै गएको छ। घर, आँगन, बगैँचा, पार्क, स्कुल, निजी कार्यालयलाई फूलले सजावट गर्ने परम्परा बढेको छ। 

भारतबाट आयातीत फूलमा विषादी बढी 
भारतबाट आयातीत माला तथा फूलमा विषादीको बढी प्रयोग गरिएको पाइएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजूले लामो दिनसम्म फूल ओइलिन नदिन व्यापारीहरूले विषादीको प्रयोगसमेत गरेको पाइएको जानकारी दिए। उनले भने, ‘फूल उपत्पादन गर्ने वेलामा सीमित तरिकारले विषादीको प्रयोग त हुन्छ, तर फूलमा धेरै विषादीको प्रयोग गर्दा त्यसले असर गर्छ।’ उनले माला अनुहार तथा गलामै पर्ने भएकोले फूल तथा मालामा विषादी प्रयोग गर्दा असर पर्ने बताए। उनका अनुसार विषादी प्रयोग गरेपछि केही दिनसम्म त्यसको प्रयोग गर्न मिल्दैन। तर, व्यापारीहरूले किरा लाग्न नदिन, ढुसी लाग्न नदिन विषादीको प्रयोग गरेको उनको भनाइ छ। उनले फूलमा प्रयोग गरिएको विषादीबारे प्रयोगशालामा परीक्षण गरिएको बताए। नेपालमा उत्पादिन फूलमा भने विषादीको ज्यादै कम प्रयोग भएको उनको भनाइ छ।  भारतबाट व्यापारीहरू लुकिछिपी ल्याउने फूल र माला बेच्न थालेको कसजू बताउँछन्। 

आयात घढ्दो 
व्यवसायीहरूका अनुसार पछिल्लो समय फूलको आयात घढ्दो छ। नेपालमा उपत्पादन हुने क्रम बढ्दै गएकोले फूल तथा मालाको आयात घटेको व्यवसायीको भनाइ छ। विगतका वर्षहरूमा भन्दा यो वर्ष फूलको आयात कम भएको महासंघको आकलन छ। महासंघले नेपालमै उपत्पादन बढेकोले आयात कम भएको जनाएको छ। 

उत्पादन कम हुँदा काठमाडौंमा महँगो
उपत्यकामा फूलमालाको माग बढी छ। तर, उत्पादन हुने क्षेत्र भने सीमित छन्। उपत्यकाभित्र आवश्यक पर्ने फूल तथा माला यहीँको उत्पादनले धान्दैन। पहाडी जिल्लाहरूबाट यहाँ फूल ल्याउने गरिन्छ। व्यापारीहरूले नेपालमा फूलमाला भारतबाट पनि ल्याउँछन्। विदेशबाट ल्याएको फूल तथा मालाको मुख्य झन् चर्को तिर्नुपर्छ। तिहारको वेला काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, चितवन, काभ्रे, मकवानपुरलगायत जिल्लामा उत्पादित फूलका माला व्यापारीले उपत्यकामा ल्याउने गर्छन्। यसबाहेक केही व्यापारीहरूले भारतबाट पनि फूल ल्याएर बेच्छन्।

सुझावित समाचार