वीरगन्ज महानगरपालिका– १४ पिपरामा रहेको नृसिंह माध्यमिक विद्यालयले व्यवस्थापन समितिको जानकारीविना नै शिक्षकहरू नियुक्त गरेको पाइएको छ। विद्यालयले व्यवस्थापन समितिको अनुमतिविना नै आंशिक शिक्षकको रूपमा २२ जना नियुक्त गरेको पाइएको हो।
जिल्लाकै नमुना विद्यालयको रूपमा रहेको विद्यालयले विगत लामो समयदेखि नेपाली र अंग्रेजी माध्यम गरी दुई सिफ्टमा कक्षा सञ्चालन गर्दै आएको छ। विद्यालयमा दुवै माध्यममा पढाउने शिक्षक विद्यालयका दरबन्दीअनुसार अपुग भएपछि प्रधानाध्यापक विनोद मेहताले आफैँले शिक्षक नियुक्त गरेका हुन्।विद्यालयका प्रधानाध्यापक मेहताले समितिका कसैलाई जानकारी नदिई शिक्षकहरू नियुक्त गरेर अध्यापन गराउन दिएको विद्यालय व्यवस्थापन समितिको आरोप छ।
प्रधानाध्यापक मेहताले आफ्नो मनोमानीमा शिक्षक नियुक्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबुप्रसाद कुर्मीको दाबी छ। अध्यक्ष कुर्मीका अनुसार प्रधानाध्यापक मेहताले शैक्षिक सत्र सुरु भएकै समयदेखि आफ्नानिकट शिक्षक नियुक्त गरेका छन् । प्रधानाध्यापक मेहताले पछिल्लो समयमा विद्यालयलाई राजनीतिक अड्डा र आफ्ना व्यक्तिगत फाइदाका लागि भर्तीकेन्द्र बनाएको उनको आरोप छ।
विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन गर्दै आएका विद्यार्थीहरूको मासिक शुल्कबाट नियुक्त गरिएका शिक्षकहरूले तलब बुझ्दै आएका छन्। सामुदायिक विद्यालयमा कुनै पनि बहानामा शुल्क नलिई निःशुल्क शिक्षा दिन भनिएको छ। तर, उक्त विद्यालयले विभिन्न व्यक्तिको मिलोमतोमा विद्यार्थीहरूबाट गैरकानुनी रूपमा रकम असुल्दै आएको छ। सामुदायिक विद्यालयमा कुनै पनि तहको आंशिक शिक्षक नियुक्त गर्दा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक प्रतिनिधिलाई जानकारी र निर्णय हुनुपर्ने व्यवस्था छ।
शैक्षिक सत्र चालू भएकै समयदेखि विद्यालयमा डिप्लोमा तर्फ मुनितकुमार कुशवाह, विनय कुशवाह, सञ्जय पटेल नियुक्त भएका छन्। त्यस्तै, सामान्यतर्फ अशोकराज ठाकुर, सञ्जयकुमार मिश्रा, मुक्तराज भुसाल, सन्नीकुमार दुबे, सोनी पटेल र नन्दकिशोर पटेललाई नियुक्त गरिएको हो। अंग्रेजीतर्फ महेश गुप्ता, हृदयानन्द ठाकुर, नन्दकिशोर यादव, मनीष कुशवाह, दीपक रौनियार, पवन कुमार, सञ्वीव साह, गौलमकुमार साह, रितिकरोशन यादव, सुशील यादव, वीरेन्द्र पटेल, सञ्जय साह, मनीषा रौनियार रहेका छन्।
प्रधानाध्यापक मेहताको मंसिरसम्मको हाजिर फेला
विद्यालयका प्रधानाध्यापक विनोद मेहताले कात्तिकमा विद्यालयमा उपस्थित भएको बताए पनि हाजिर रजिस्टरमा उपस्थित नभएको फेला परेको छ। विद्यालयमा समयमा नआउने प्रधानाध्यापक मेहताले कात्तिक महिनामा विद्यालयमा उपस्थित नै नभएका प्रधानाध्यापक मेहताले एक महिना पछाडिको हाजिरी बनाएका छन्। विद्यालय व्यवस्थापन समितिले छड्के गरेको समयमा हाजिर रजिस्टरमा प्रधानाध्यापक मेहताको मंसिर १६ गतेसम्म विद्यालयमा उपस्थित भएको हाजिरी फेला परेको हो।
विद्यालय व्यवस्थापन समितिका अनुसार मेहता विद्यालयको समयमा विद्यालयमा नआउने र विद्यालयको कक्षा सकिएपछि मात्र विद्यालयमा आएर बस्ने गरेको शिक्षकहरूले बताएका छन्। एक शिक्षकका अनुसार विद्यालयमा व्यवस्थापन समिति र प्रधानाध्यापक बीचको आन्तरिक विवादका कारण समस्या देखिएको छ। विद्यालयमा आर्थिक लेनदेनकै कारण अहिले विद्यालयको आन्तरिक विवाद बाहिरिएको हो।
तर, प्रधानाध्यापक मेहताले आफू नियमित रूपमा विद्यालयमा पुगेको दाबी गरेका छन्। उनले विद्यालयमा नियमित भए पनि समय मात्र अनियमित भएको बताए।
उनले विद्यालयमा सबैको जानकारीमा आंशिक रूपमा शिक्षक राखेकाले अहिले तलब खुवाउनलाई रकमको व्यवस्थापनमा लागेको दाबी गरे।
विद्यालयको विवादमा शैक्षिक प्रशासन महाशाखा मौन
विगत लामो समयको विद्यालयको आन्तरिक विवाद महानगरको शैक्षिक प्रशासन महाशाखामा पुगे पनि उक्त शाखा मौन छ। विद्यालय र शैक्षिक प्रशासन महाशाखाको आर्थिक लेनदेनमा मिलेमतो रहेकाले शाखाले चासो नलिएको विद्यालय व्यवस्थापन समितिले आरोप लगाएको छ।
विगत लामो समयदेखि यो विवाद बाहिरिए पनि महाशाखाले वास्ता नगरेको र आर्थिक मिलेमतोमा गुपचुप रहेको समितिको भनाइ छ। विद्यालयको विवाद बाहिरिएको सुने पनि लिखित रूपमा नआएको वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले बताए।
उनले नृसिंह विद्यालयको आन्तरिक विवादबारे शिक्षकहरूमार्फत मौखिक रूपमा जानकारी आएको र यसमा लिखित रूपमा पत्र नआएपछि वास्ता नगरिएको बताए। विद्यालयमा शिक्षक नियुक्त भएकोबारेमा जानकारी पाएकाले अब केही दिनमा समाधानतर्फ लाग्ने शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले बताए।