सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन्। मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै नेपालले कसैले चाहेजस्तो अर्ली इलेक्सनको सम्भावना नरहेको बताए। उनले राष्ट्रलाई व्ययभार हुन नदिन तीनवटै तहको निर्वाचन एकैचोटी गर्ने विषयमा समेत सत्तारुढ दलहरूभित्र छलफल भइरहेको जानकारी दिए।
अध्यक्ष नेपालले भने, ‘इलेक्सन समयमा हुन्छ। त्यसको निम्ति अब इलेक्सनको प्रक्रिया सुरु हुन्छ। जस्तो राष्ट्रिय सभाको चुनाव छ, त्यो गर्नै पर्यो समयमा। अब उपनिर्वाचनहरूको कुरा पनि चलिराख्या छ, प्रदेश सभाको निर्वाचनको कुरा। त्यसको निम्ति पनि तयारीको कुरा भइरहेको छ। सर्वोपरि रूपमा सबै तहको निर्वाचन राष्ट्रलाई व्ययभार नपर्ने गरी एकैचोटी गर्ने भन्ने हो। कसैकसैले भनेजस्तो अर्ली इलेक्सनको सम्भावना छैन।’
अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि आश्वासन दिएका छन्।