ढकमक्क फुले आश्रमका वृद्धवृद्धाले लगाएका सयपत्री

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

गोंगबु बसपार्कदेखि साङ्लेखोला हुँदै करिब तीन किलोमिटर करिडोरको यात्रा गरेपछि दियालो पुल आउँछ। पुल तरेर अलि उकालो लागेपछि जस्तापाताले बनेको घर देखिन्छ। जस्तापाताले बनेको उक्त घरको आँगननजिक पुग्दा अनुहार चाउरिएका वृद्धवृद्धा देखिन्छन्। उनीहरू घाम तापेर बसिरहेको आँगनको डिल सयपत्री र मखमली फूलले ढकमक्क छ।

उमेरले ६०–७० वर्ष पार गरेका वृद्धवृद्धाले घरको आँगनमा मात्रै फूल फुलाएका छैनन्। घरको नजिकै करिब तीन रोपनी क्षेत्रफलमा वृद्धवृद्धाले नै फूल रोपेका थिए। तारकेश्वर– ७ फुटुङस्थित नवजीवन परोपकार समाजमा बस्दै आइरहेका वृद्धवृद्धाले आश्रमनजिकै रहेको बाँझो बारीमा रोपेका फूल ढकमक्कै फुलेका छन्। फूल फुलेसँगै अहिले टिप्ने चटारो छ।

नवजीवन परोपकार समाजमा अहिले २४ वृद्धवृद्धा छन्। आश्रमनजिकै रोपेका फूलले आश्रम नै आकर्षक बनेको छ। तरकारी र फूलखेती आश्रमका वृद्धवृद्धाका लागि दिन कटाउने मेलो पनि हो। आश्रमका संयोजक दुर्गानाथ दाहालले वृद्धवृद्धाको मिहिनेतले पाखाबारीमा फूल फुलेको बताए। उनले साउनमा रोपेको सयपत्री फूल फुलेसँगै बजारमा लैजाने तयारी गरिएको जानकारी दिए।

उनका अनुसार उक्त फूल बिक्रीबाट भएको आम्दानी वृद्धवृद्धाकै आवश्यकतामा खर्च हुनेछ। ‘हामीले गत वर्ष पनि फूल रोपेका थियौँ । यो वर्ष पनि तीन रोपनीमा रोपेको फूल ढकमक्क फुलेको छ,’ उनले भने, ‘उक्त फूलबाट तीन लाखभन्दा बढी आम्दानी हुन्छ।’ उनका अनुसार आश्रममा अहिले गाईपालन र तरकारीखेती पनि थालिएको छ। आफन्तबाट एक्लिएका, बेसहारा र आफन्तविहीन वृद्धवृद्धा यस आश्रममा बस्दै आएका छन्। उनीहरूकै सक्रियतामा फूल र तरकारी खेती हुँदै आएको छ।

See More On

सुझावित समाचार