रामेछाप दोरम्बा– ४ स्थित गोश्वाराका ३० वर्षीय धनलाल थापा ६ कात्तिकमा पक्राउ परे । महानगरीय अपराध महाशाखाको अनुसन्धानबाट खुल्यो– उनी १३ वर्षदेखि चोरीमा संलग्न थिए । एउटा पेसेवर चोरको ‘अपराध कुण्डली’ पल्टाउँदै जाँदा प्रहरीले अनेक रहस्य फेला पार्यो । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार चोरीकै स्रोतबाट ब्रान्डेड जीवनशैलीमा ठाँटिने धनलाल सानदार होटेलमा बस्थे । डिस्को र दोहोरीमा रमाउनु उनको दैनिकी थियो, जुवामा पैसा उडाउनु सोख, तर मदिरा छुँदैनन् । प्रतिष्ठित व्यक्तिसामु उनी आफूलाई पत्रकारका रूपमा चिनाउँथे । ‘झोर्ले’ नामको अनलाइनको भिजिटिङ कार्ड नै बनाएका थिए । भेटेकालाई सोही कार्ड बाँड्थे । यतिसम्म कि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङलाई समेत कार्ड बाँड्न छुटाएनन् ।
सीतापाइलास्थित निर्मल गिरीको घर चोरी आरोपमा पक्राउ परेका व्यक्ति उनी धनलाल भएको पत्ता लाग्दा पो एसएसपी खापुङ छक्क परे । ‘२१ साउनमा सीतापाइलामा घर चोरी भयो । तीन लाख ५८ हजार रुपैयाँ मूल्यबराबरको धनमाल चोरी भएको थियो । सोही घटनाको अनुसन्धानमा हामी थियौँ । घटनामा संलग्न केही व्यक्ति पक्राउ परे । त्यही क्रममा यो पनि पो पक्राउ परेछ । मलाई नै गफ दिएर भिजिटिङ कार्ड थमाएर गएको व्यक्ति नामुद चोर भएको पत्ता लाग्दा त छक्क परेँ ।’
प्रहरीले धनलालमाथिको अनुसन्धान त्यतिमै टुंग्याएन । विगतमा भएका चोरीको एक–एक घटनाको रेकर्ड फाइल पल्टायो । काठमाडौं उपत्यकाभित्र भएका सहकारी र घर चोरीका अधिकांश घटना उनैबाट भएको खुल्यो । प्रहरीका अनुसार धनलाल ०६८ देखि चोरी धन्दामा संलग्न थिए । यसबीचमा उनले पटक–पटक गरी दुई वर्ष जेल सजाय भोगिसकेका थिए । एसएसपी खापुङले भने, ‘गतिविधि शंकास्पद देखिएपछि विगतमा भएका चोरी घटना हेर्यौँ । अधिकांश घटनामा ऊ संलग्न रहेको देखियो । ०६८ देखि उसले चोरी कार्यलाई निरन्तरता दिएको देखिन्छ । यस क्रममा दुई वर्ष त जेल नै बसेको रहेछ ।’
एसएसपी चन्द्रकुवेर खापुङ भन्छन्
२१ साउनमा सीतापाइलामा घर चोरी भयो । तीन लाख ५८ हजार रुपैयाँ मूल्यबराबरको धनमाल चोरी भएको थियो । सोही घटनाको अनुसन्धानमा हामी थियौँ । घटनामा संलग्न केही व्यक्ति पक्राउ परे । त्यही क्रममा धनलाल पनि पक्राउ परेछ । मलाई नै गफ दिएर भिजिटिङ कार्ड थमाएर गएको व्यक्ति नामुद चोर भएको पत्ता लाग्दा त छक्क परेँ ।
रामेछाप दोरम्बा– ४ स्थित गोश्वाराकै हुन्, ३१ वर्षीय कमल थापामगर । धनलाललाई पक्राउ गरेको अघिल्लो दिन चोरी अभियोगमै प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले धनलालबाटै चोरी गर्न सिकेका हुन् । त्यसैले काठमाडौंका अधिकांश चोरी घटनामा धनलालसँगै उनी पनि संलग्न रहेको प्रहरीले जनाएको छ । उनकै बयानका आधारमा प्रहरी धनलालाई पक्रन सफल भएको थियो ।
अनुसन्धानमा संलग्न महाशाखाका डिएसपी गंगा पौडेलका अनुसार कमल पनि ब्रान्डेड कपडाका सौखिन हुन् । तारे होटेलमै बस्थे । डिस्को र दोहोरी नियमित जान्थे । जुवामा पैसा उडाउँथे । खल्तीमा एक–डेढ लाख नटुट्ने उनीहरू दुवैजना सँगै बस्थे । विवाहित कमलकी श्रीमती वैदेशिक रोजगारमा रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । कमल ०७३ मा जबर्जस्ती करणी मुद्दामा २८ महिना जेल बसिसकेको पनि अनुसन्धानमा फेला परेको छ । एकपटक उनी वैदेशिक रोजगारका क्रममा मलेसिया पनि गएका थिए, तर फर्किएर पुरानै धन्दामा लागे ।
चोभारको झाडी र ओडारमा लुकाउँथे चोरीमा प्रयोग गर्ने औजार
धनलाल र कमलले चोरीमा प्रयोग गर्ने रड, कैँची र ताल्चा फोर्ने औजार लुकाउन विशेष ठाउँ चयन गरेका थिए । चोरीपछि पक्राउ पर्ने डरले उनीहरूले ती सामान चोभारको झाडी र ओडारमा लुकाउँथे । प्रहरीका अनुसार उनीहरू दिउँसो चोरी गर्ने घर र सहकारी पहिचान गर्थे । मिहीन ढंगले ठाउँको रेकी गर्थे । फाइनल भएपछि चोरी गर्ने औजार लिन रातको ११ बजेपछि चोभार पुग्थे । चोरीपछि पुनः ती सामग्री चोभारको सम्बन्धित ठाउँमै लगेर राख्थे ।एसएसपी खापुङले भने, ‘यिनीहरूले निकै चलाखी गरेका रहेछन् । कोठाबाट औजार बरामद भए फसिने डरले चोरीमा प्रयोग गर्ने सबै सामान चोभारको झाडी र ओडारमा लगेर राख्दा रहेछन् । यिनीहरूले लुकाएर राखेका यस्ता रामग्री धेरै बरामद गरिसकेका छौँ ।’
धनमाल बेच्न चक्रपथबाहिरका साना सुनचाँदी पसल
प्रहरीका अनुसार धनलाल र कमल खासगरी नगद, सुन र चाँदीका गहना चोर्थे । चोरेका गहना बेच्न चक्रपथबाहिरका साना सुनचाँदी पसल रोज्थे । एसएसपी खापुङका अनुसार बिक्री गर्न सजिलो हुने र त्यस्ता पसल प्रहरी निगरानीमा पनि नपर्ने ठानेर उनीहरूले रोजेको हुन सक्छ ।
