प्रविधि र जलवायुमैत्री सहरी विकासमा जोड

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

सहरी विकासका योजनाविद् तथा विज्ञहरूले अब प्रविधि र जलवायुमैत्री सहर विकास गर्नुपर्नेमा जोड दिएका छन् । सहरी विकास मन्त्रालयको नेतृत्वमा सहरी विकास तथा भवन निर्माण विभागमा आयोजित कार्यक्रममा विज्ञहरूले सहरी विकासमा प्रणालीगत परिवर्तन आवश्यक भएको बताए । कार्यक्रमका मुख्य वक्ता तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले विद्यालयदेखि विश्वविद्यालयसम्म सहरी विकासका लागि निर्माण गरिएका पाठ्यपुस्तकदेखि अन्य संरचनालाई समयानुकूल परिवर्तन गर्नुपर्ने बताए । ‘ठूला–ठूला परिवर्तन गर्नका लागि साना परिवर्तनलाई जोड दिनुपर्छ,’ उनले भने । 

प्रा.डा. संगीता सिंहले सहरीकरणको वृद्धि हुँदै गएको, तर त्यो योजनामा आधारित हुनुपर्नेमा जोड दिइन् । ‘नयाँ प्रविधि र जलवायुको पक्षलाई ध्यान दिएर मात्र नयाँ सहरीको योजना बनाउन आवश्यक छ,’ उनले भनिन् । अहिलेदेखि नै योजनामा आधारित सहरी विकास नभएमा थेग्नै नसक्ने समस्या आउनेतर्फ सबै सचेत हुनुपर्ने बताइन् । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले काठमाडांैमा विद्युतीय बस सञ्चालन गर्ने र त्यसले पर्यावरणमा पु¥याउने योगदानबारे चर्चा गरे । त्यस्तै, नयाँ सहरी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले योजनाबद्ध सहरी विकासका लागि  काम गने प्रयास भइरहेको बताए । त्यसका लागि विभिन्न मापदण्डमा आधारित भएर काम गरिरहेको बताए । काठमाडौं उपत्यका विकास प्राधिकरणका आयोजना प्रबन्धक भागवतभक्त कोखालीले काठमाडौं उपत्यकामा व्यवस्थित सहरी विकासमा जलवायु पक्षलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

विश्वमा आधाभन्दा बढी जनसंख्या सहरी क्षेत्रमा बसोवास गर्छन् । नेपालमा पनि दुई सय ९३ नगरपालिका छन् । ती नगरपालिकामा बसोवास गर्ने जनसंख्या ६२ प्रतिशत छ । तर, सहरी सुविधा उपयोग गर्ने जनसंख्या एकचौथाइ मात्र रहेको सहरी विकास मन्त्रालयको अनुमान छ । मन्त्रालयका प्रवक्ता तथा विश्व सहरी दिवस ०७८ का मूल तयारी समितिका संयोजकले देशभर विभिन्न प्रचारात्मक कार्यक्रम गरी विश्व सहरी दिवस मनाइएको जानकारी दिए । 

सुझावित समाचार