ऊर्जा प्रयोगमा दक्ष उपाय अपनाउँदा उद्योगहरूले खपत गरिरहेको कुल विद्युत्मध्ये ४२ प्रतिशतसम्म बचत गर्न सक्ने देखिएको छ । देशभरका एक सय औद्योगिक निकाय, कम्पनी र प्रतिष्ठानहरूमा गरिएको सर्वेक्षण अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । एसियाली विकास बैंकले गरेको अध्ययनले सिमेन्ट उद्योगमा ४२ प्रतिशतसम्म विद्युत् बचत गर्न सकिने देखाएको हो । यसबाहेक होटेलमा ३९ प्रतिशत, साबुन तथा रसायन उद्योगमा ३६ प्रतिशतसम्म ऊर्जा बचत गर्न सकिने देखिएको छ । सबैभन्दा कम कागज उद्योगमा सात प्रतिशतले बचत गर्न सकिने देखिएको हो । ऊर्जाको किफायती प्रयोगले ऊर्जाको आयात घटाउन, पहुँच वृद्धि गर्न, कार्बन उत्सर्जन कम गर्न र ऊर्जा सुरक्षणमा वृद्धि गर्न सहयोग पुग्ने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले बताए ।
२०३० सम्म ऊर्जा दक्षता दोब्बर
सन् २००१ देखि २०१५ सम्म नेपालको ऊर्जा दक्षतामा सुधारको दर शून्य दशमलव ८४ प्रतिशत रहेको छ । सरकारले सन् २०३० भित्रमा यो सुधारको दरलाई दोब्बर बनाउने लक्ष्य निर्धारण गरेको छ । ‘सन् २०३० भित्र नेपालको ऊर्जा दक्षतामा सुधारको दर १ दशमलव ६ प्रतिशत पु¥याउने लक्ष्य हो,’ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकालले भने । ऊर्जा दक्षता सुधारको दर दोब्बर बनाउनु भनेको अहिले दुई मेगावाट विद्युत्बाट जति काम भइरहेको छ, त्यति नै काम एक मेगावाटबाट सम्पन्न गर्नु हो ।
के हो ऊर्जा दक्षता ?
ऊर्जा उपयोगसँग सम्बन्धित उपाय, प्रविधि तथा उपकरणहरूको माध्यमबाट हुने ऊर्जाको कुशल उपयोग गर्ने ऊर्जा दक्षता हो । ऊर्जा दक्षता एउटा लक्ष्य हो, जुन प्राविधिक रूपमा समग्र राष्ट्रको प्रतिएकाइ कुल गार्हस्थ्य वस्तु वा सेवाको उत्पादनका लागि लागत ऊर्जाको परिमाण ऊर्जा सघनताको मापनद्वारा तय गर्न सकिन्छ । ऊर्जा दक्षतामार्फत भएको ऊर्जाको बचत तुलनात्मक रूपमा ऊर्जा उत्पादनभन्दा सस्तो र प्रभावकारी रहेको अध्ययनले देखाएको छ ।
नेपालमा ऊर्जा दक्षताका लागि भएका पहलहरू
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार नेपालमा सन् १९८५ देखि नै ऊर्जा दक्षताको अध्ययन र विश्लेषण थालिएको हो । तर, त्यसको प्रभावकारी प्रयोग भने अझै हुन सकेको छैन । नेपालमा ऊर्जा दक्षताका लागि उद्योगहरूको ऊर्जा लेखापरीक्षण, ऊर्जा दक्षतासम्बन्धी प्रशिक्षण, जनजागरण कार्यक्रम, उद्योगहरूमा उर्जा दक्षताका लागि ऋणको प्रवद्र्धन, बिजुली लोड प्रोफाइलको अध्ययन, परम्परागत बल्भहरूको प्रतिस्थापन गरी ऊर्जा कुशल बल्भको प्रयोगलगायत काम भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन
अधिकारीले बताए ।
केन्द्रका अनुसार ऊर्जा उपयोग गर्नका लागि विभिन्न क्षेत्रहरूमा प्रयोग हुने उपकरणहरूको ऊर्जा दक्षता मापदण्ड र लेबलको निर्धारण गर्नुपर्नेछ । ऊर्जा दक्ष मेसिन, उपकरण, औजार वा मालसामानहरूको उपयोग गर्नुपर्नेछ । यस्ता उपकरणहरूको आयात गर्दा गुणस्तर मापदण्डअनुसार नभएमा आयात बिन्दुमा नै स्वदेशी उत्पादनमा उत्पादन बिन्दुमा नै परीक्षण गर्नुपर्ने अधिकारीहरूको भनाइ छ ।
घरायसी प्रयोगका १८ वस्तुको दक्षता मापदण्ड मस्यौदाका क्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले घरायसी प्रयोगका १८ वस्तुको दक्षता मापदण्ड मस्यौदाका क्रममा रहेको जानकारी दिएको छ । केन्द्र २५ वर्ष पुगेको अवसरमा सोमबार काठमाडाैं आयोजित ऊर्जा दक्षतासम्बन्धी नीतिगत छलफलमा कार्यकारी निर्देशक डा. अधिकारीले नेपाल गुणस्तर तथा नापतौल विभागसँगको सहकार्यमा फ्रिज, रेफ्रिजेरेटर, वासिङ मेसिनलगायत सामानको मापदण्ड तयारी भइरहेको बताए । नेपाल गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक प्रभातकुमार सिंहले ऊर्जा दक्षतासम्बन्धी मापदण्ड तय गर्न भूमिका खेल्ने बताए । ‘गुणस्तर सुनिश्चितता गर्ने र दक्षता मापन गर्नेमा सहयोग गर्न सकिनेछ,’ उनले भने । तर, ल्याब र मानव स्रोत भने वृद्धि गर्न आवश्यक रहेको छ ।
कार्यक्रममा विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देवले ऊर्जा दक्षतासम्बन्धी ऐन आएपछि त्यसैअनुसार अनुमतिपत्र दिने वेलादेखि नै ऊर्जा दक्षतालाई अवलम्बन गर्ने बताए । त्यस्तै, नेपाल विद्युत् प्राधिकरण, ऊर्जा दक्षताका प्रमुख श्रीराम पोखरेलले उद्योगमा औसत १५ प्रतिशत ऊर्जा दक्षता ल्याउन सकिने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ सदस्य अरनिको राजभण्डारीले उद्योगमा स–साना परिवर्तन गरेर ठूलो दक्षता हासिल गर्न सकिने बताए । ‘तर, कसरी उद्योगले दक्ष प्रयोग गर्न सक्छन् भन्ने विषय जानकारी दिन आवश्यक छ,’ उनले भने । नवीकरणीय ऊर्जाविज्ञ डा. नारायण चौलागाईंले ऊर्जा दक्षता अहिलेको प्रतिस्पर्धी समयमा अत्यावश्यक बन्दै गएको बताए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधु भेटवालले ऊर्जा दक्षतासम्बन्धी नीतिगत व्यवस्था गर्न लागिपरेको जानकारी दिए ।
