नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल)ले एमालेले मात्र देशलाई राजनीतिक स्थायित्व र समाजवादको दिशातर्फ लैजान सक्ने दाबी गरेका छन्। नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रचण्ड र नेपाल दक्षिणपन्थी भएको आरोप लगाउँदै उनले दुवै नेतालाई एमालेले परास्त गर्ने दाबी गरे। उनले कम्युनिस्ट भएर सामूहिक पद्धति र नीतिबाट नचल्ने, समाजलाई यथास्थितिमा राख्नेहरू र परिवारवादीहरू पार्टीबाट चोइटिएको बताए।
माधव नेपालबारे एमाले विधान अधिवेशनले भण्डाफोर गरेको भन्दै थापाले चितवनमा हुने महाधिवेशनले प्रचण्डबारे समेत भण्डाफोर गर्ने चेतावनी दिए। एमालेको सदस्य भएपछि जबजको सिद्धान्तलाई गहिरोसँग आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै उनले जनादेशबाट आफ्नो पार्टी नेतृत्वमा जाने विश्वास व्यक्त गरे।