कांग्रेस नेत्री कोइरालाद्वारा सभापतिमा उम्मेदवारी घोषणा

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले कार्यकर्ताको महिला सभापति हुनुपर्ने माग एवं चाहनालाई ध्यानमा राखी सभापतिमा उम्मेदवारी दिनका लागि आफू पूर्वी नेपालको भ्रमणमा आएको जानकारी दिइन्।

मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण ‘अर्ली इलेक्सन’को सम्भावना बढ्दै गएको कोइरालाले बताइन्। ‘लोकतन्त्रमा जनताको आस्था र विश्वासको केन्द्रको रूपमा रहेको अदालत सधैँ स्वतन्त्र र निष्पक्ष हुनुपर्छ,’ उनले भनिन्। उनले मलुकका सबै संवैधानिक अंगले निष्पक्ष ढंगले कार्य गर्नुपर्नेमा जोड दिइन्।

केन्द्रीय सदस्य कोइरालाले सत्तासीन गठबन्धन दलसँग सिद्धान्त र विचार नमिल्ने हुनाले कोहीसँग पनि कांग्रेसले आगामी निर्वाचनमा तालमेल गर्न नहुने धारणा राखिन्। उनले वर्तमान गठबन्धनमा सहभागी राजनीतिक दलले लोकतन्त्रको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक्तासमेत औँल्याएकी छन्। रासस

सुझावित समाचार