नेपाल बार एसाेसिएसनले आफूहरूको धर्नास्थलमा प्रहरी परिचालन गरिएकोमा कानुन व्यवसायीहरूले आपत्ति जनाएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायी आइतबारदेखि सर्वोच्च अदालत परिसरमा धर्नामा छन्।
बारको धर्ना रोक्न सर्वोच्च परिसरमा करिब ५० जना प्रहरी परिचालन गरिएपछि कानुन व्यवसायीले आपत्ति जनाएका हुन्।
नेपालको इतिहासमै पहिलोपटक हतियारधारी दंगा प्रहरी परिचालन गरिएको भन्दै सर्वोच्च अदालत बार एसाेसिएसनका सचिव ऋषिराम घिमिरेले खेद प्रकट गरेका छन्। ‘नेपालको इतिहासमा पहिलोपटक हतियारधारी दंगा प्रहरी परिचालन हुनु दुःखद हो। यसमा हामी खेद प्रकट गर्छौँ। कानुन व्यवसायीमाथि यो हदको व्यवहार निर्लज्जताको हद भयो,’ घिमिरेले भने।
यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आन्दोलनलाई थप सशक्त बनाउने प्रतिक्रिया दिएका छन्। उनले भने, ‘बारको शान्तिपूर्ण आन्दोलनलाई विद्यार्थी आन्दोलन जसरी दमन गर्न खोजियो। कानुन व्यवसायीको आन्दोलन अझै सशक्त हुन्छ।’