सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । आइतबार समाजवादी इन्जिनियरिङ एसोसिएसनको प्रथम राष्ट्रिय भेलामा नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
उनले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताए । नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको जिकिर गरे । उनले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सोच्न सबैलाई आग्रह गरे ।
उनले बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्तासमेत व्यक्त गरे । सरकारले जनताको पसिनाको कदर नगरेको र महत्व नबुझेको उनको भनाइ छ ।
उनले भने, ‘म देशको प्रधानमन्त्री भएँ, त्यस्तो देखेको थिइनँ, अहिले त्यो सुन्दासुन्दा दिक्क भइरहेछ, कति भ्रष्ट भइसकेछ हाम्रो यो सिस्टम, अरूले त अलिअलि गरे होला, तर सबैभन्दा भ्रष्ट हाम्रो केपीजीको पालोमा भ्रष्टाचारले सीमा नाघ्यो, गफमा भ्रष्टाचार गर्दिनँ, गरेको पनि सहन्नँ, गफ, यस्ता गफाडीहरूको हातमा यो देश गयो, अनुसन्धानको खाँचो छ, नयाँ सोच, विचारको खाँचो छ, हामी यो देशलाई राम्रो दिशामा लैजान चाहन्छौँ, हाम्रो देश किन बन्न सकेन सोच्नुपर्छ । हामीले एजेन्डा बनाएर काम गरौँ, कहाँ हाम्रो समस्या छ, खोजौँ, काम गरौँ देश बनाऔँ । यस्तो गरिब देश छ नेपाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान सकिन्न, बालुवाटरमै हेलिप्याड चाहिन्छ । त्यहाँबाट १० मिनेटमा एयरपोर्ट पुगिन्छ, करोडौँ रुपैयाँ खर्च गर्ने हो ? राष्ट्रपति भवनमा अर्को हेलिप्याड बनाउने कुरो भइरहेको रहेछ, हेलिप्याड बनाउने हो ? म त्यसको विरोधी हुँ, जानुपर्छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टाढा पनि छैन । जनताको पसिना बगाएको पैसा कसरी सदुपयोग गर्ने भनेर चिन्ता चासो छैन, देश बनाउन मन पोल्नुपर्यो ।’
नेपालले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान सुरु गर्नुपर्ने पनि बताए । उनले आफ्नो पहिलो जोड निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको र छिटोभन्दा छिटो फास्ट ट्रयाकको काम सक्ने रहेको उनले बताए ।