चार हप्तापछि छुटे शाहरुख खानका छोरा आर्यन

शनिबार, १३ कार्तिक, २०७८
डिजिटल संस्करण

भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खान करिब एक महिनापछि जेलबाट छुटेका छन्। कु्रज ड्रग्स केसमा पक्राउ परेका खान २७ दिनपछि रिहा भएका हुन्। उनी शनिबार बिहान ११ बजे मुम्बईस्थित अर्थर रोड जेलबाट छुटेका हुन्। मुम्बई कु्रज पार्टीमा सहभागी हुन जाने क्रममा एनसिबीले गत अक्टोबर २ मा आर्यनसहित तिनजनालाई पक्राउ गरेको थियो। 

आर्यनलाई मुम्बईको उच्च अदालतले बिहीबार जमानतमा रिहा गर्न आदेश दिएको थियो। उनलाई लिनका लागि शाहरुख खान आफैँ अर्थर रोड जेल पुगेका थिए। जेलको गेटबाट निस्किएपछि आर्यन सीधै आफ्नो निवास मन्नत गएका छन्। जेलबाट छुटेपछि आफ्नो घर पुगेका आर्यनलाई पिता शाहरुख खानका प्रशंसकले बाजा–गाजासहित स्वागत गरेका थिए। आर्यनलाई स्वागत गर्न जम्मा भएका मानिसहरूको भिड सम्हाल्न प्रहरीलाईसमेत हम्मेहम्मे परेको थियो।

मुम्बईको उच्च अदालतले उनलाई सर्तसहित रिहा गर्न आदेश दिएको जसमा उनीसहित पक्राउ परेका अन्य दुईजनासँग सम्पर्कमा रहन नपाउने, फेरि ड्रग्सकै विषयमा सहभागी नहुने, आफ्नो पासपोर्ट विशेष अदालतमा बुझाउनुपर्ने, न्यायाधीशको अनुमतिविना मुम्बई तथा देशबाहिर जान नपाउनेलगायतका सर्तहरू रहेका छन्। आर्यनले हरेक शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्ममा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी) मा उपस्थित हुनुपर्ने बताइएको छ। 
 

सुझावित समाचार