२९ कात्तिकबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल १४ फागुनमा हुनेछ, एकल राउन्ड रोविन लिगको शीर्ष स्थानमा रहने क्लब नै च्याम्पियन बन्नेछ । लिग विजेताले ७५ लाख तथा उपविजेताले ५० लाख पाउनेछन् । यसपटक लिगमा दुई क्लब रेलिगेसनमा पर्नेछन् ।
घरेलु फुटबल प्रतियोगिताको मेरुदण्ड नै माथिल्लो डिभिजनको लिग नै हो । नेपालमा पनि फुटबलको मेरुदण्डका रूपमा रहेको ए डिभिजन लिग फुटबल प्रतियोगिता सात दशकदेखि नै सञ्चालन हुँदै आइरहेको छ । यसपटक सहिद स्मारक ए डिभिजन लिग फुटबल (२०७८) संस्करण २९ कात्तिकबाट दशरथ रंगशाला र सात दोबाटोको एन्फा कम्प्लेक्समा सुरु हुँदै छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको सबैजसो तयारी पूरा गरेको छ ।
एन्फाले शुक्रबार ए डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ । उद्घाटन खेलमा दुई ललितपुर क्लबबीच प्रतिस्पर्धा हुने छ । लिगमा फ्रेन्ड्स पुरानै अनुभवी क्लब हो । सात दोबाटो पछिल्लोपटक बी डिभिजन लिग च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भएको क्लब हो ।
एन्फाले लिगको पहिलो खेल नै रंगशालामा फ्लडलाइटमा गर्ने भएको छ । एन्फाअन्तर्गतको लिग कमिटीले शुक्रबार ए डिभिजनका १४ क्लबका प्रतिनिधिबबीच टाइ सिट ड्र गरेको हो । फ्रेन्ड्स र सातदोबाटोबीच साँझ ५ बजे रंगशालामा फ्लडलाइटमा हुने लिग कमिटीका निर्देशक सञ्जीव मिश्रले बताएका छन् । एन्फा कम्प्लेक्समै खेल तालिकाको ड्र कार्यक्रममा पहिलो र दोस्रो चरणका खेल दशरथ रंगशाला र एन्फा मैदानमा हुने जनाएको छ ।
दिउँसो १२ बजेको खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्यही दिन दिउँसो ३ बजेको खेल दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । योपटक पनि लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
दोस्रो चरणपछि खेलमैदान फरक हुने
एन्फालाई लिगलाई प्रतिस्पर्धात्मक बनाउन, होम एन्ड अवेको अवधारणाअनुरूप प्रारम्भिक चरणपछि केही संरचना परिमार्जित गरेको छ । तेस्रो चरणपछिका खेल च्यासलस्थित टेक्निकल सेन्टर तथा मनाङ मस्र्याङ्दीका केही खेल पोखराको रंगशालामा हुने लिगका निर्देशक मिश्रले बताए । च्यासल मैदान लगभग तयारी अवस्थामै छ । यहाँको दर्शक क्षमता करिब दश हजार रहेको छ । पुस अन्तिममा ९ राउन्डसम्मको खेल सकाउने र त्यसपछि फिफा म्याच डेमा लिगको खेल नगर्ने मिश्रले बताए । दोस्रो राउन्डमा एकै दिन ३ खेलसम्म खेलाउने तालिका छ । जसमा दुई खेल एकै समयमा राखिएको पनि छ ।
एकल राउन्ड रोविन
शुक्रबार पत्रकार सम्मेलनमा आयोजक एन्फाले लिगको दोस्रो चरणसम्मको खेलतालिका सार्वजनिक गरेको छ । यद्यपि पहिलो तथा दोस्रो चरणका खेल समाप्तिपछि पनि सहभागी टोलीको आउने खेलको मिति सार्वजनिक एन्फाले गरेन । एन्फाले अहिले दुई चरणका खेल स्थान र मिति मात्रै सार्वजनिक गरेको छ । चार महिनासम्म चल्ने ए डिभिजन लिगको अन्तिम खेल १४ फागुनमा हुनेछ । पछिल्लो संस्करणमा जस्तै यसपटक पनि एकल (सिंगल) राउन्ड रोविनमा शीर्ष स्थानमा रहने क्लब नै लिग च्याम्पियन बन्नेछ ।
१३ चरणसम्म हुने लिगमा ९१ खेल हुने लिगका निर्देशक मिश्रले बताएका छन् । आयोजक एन्फाले लिगमा विभिन्न प्रयोग गर्दै आइरहेको थियो । दोहोरो लिग तथा सुपर आठको अवधारणा लागू हुनेछैन । केवल यसपालि सिंगल राउन्ड रोविनअनुसारै लिग हुनेछ । लिगमा दुई क्लब रेलिगेसनमा पर्नेछन् । अंकतालिकाको पुछारमा रहने दुई क्लब नै रेलिगेसनमा पर्नेछन् ।
विजेताले ७५ लाख पाउने
यसपटकको लिग विजेताले ७५ लाख पाउनेछ । गत वर्ष पहिलोपटक ए डिभिजन लिग च्याम्पियन बनेको मच्छिन्द्र क्लबले ५० लाख रुपैयाँ पाएको थियो । यसैगरी उपविजेताले २५ लाख पाउनेछ । एन्फाले क्लब तथा खेलाडीलाई उत्साहित बनाउन लिगको हरेक खेल जित्दा ५० हजार रुपैयाँ दिने जनाएको छ । यसैगरी खेल बराबरीमा समाप्त हुँदा दुवै क्लबले जनही २५–२५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल पाउनेछन् । यसैगरी सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन् । साथै लिगमा उदियमान खेलाडीले पुरस्कार व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
मनाङ सर्वाधिक आठपटक च्याम्पियन
१९९१ सालमा राम जानकी ट्रफीको नामबाट लिग सुरु भएको थियो । प्रजातन्त्रको स्थापनापछि लगातार तीनपटक नेपाल पुलिस फोर्सले जितेको थियो । सहिदको सम्झनामा यो ट्रफीलाई सहिद स्मारक ए डिभिजन लिग ट्रफी भनिएको हो । जुन ट्रफी लिगको विजेतालाई प्रदान गरिनेछ ।
ए डिभिजन लिगमा मनाङ सर्वाधिक विजेता हो । मनाङले अहिलेसम्म आठपटक ए डिभिजन लिगको ट्रफी चुमेको छ । मनाङले पहिलोपटक २०४३ मा लिग जितेको थियो । मनाङले अन्तिमपटक ०७५ मा लिग ट्रफी उचाल्यो । अहिले बी डिभिजनमा रहेको रानीपोखरी कर्नर (आरसिटी) मनाङपछिको सर्वाधिक च्याम्पियन हो । आरसिटीले ६ पटक उपाधि जितेको छ ।
आरसिटीले अन्तिमपटक लिग उपाधि उचालेको नै ०४१ मा थियो । यसैगरी विभागीय क्लब नेपाल पुलिसले चारपटक लिग जितेको रेकर्ड छ । पुलिस ०६८ यता च्याम्पियन बनेको छैन । यसैगरी थ्री स्टारले चारपटक लिग उचालेको छ ।
सहभागी १४ क्लब
मच्छिन्द्र, त्रिभुवन आर्मी, मनाङ मस्र्याङ्दी, थ्री स्टार, नेपाल पुलिस, एपिएफ, च्यासल युथ, संकटा, हिमालयन शेर्पा, एनआरटी, जावलाखेल युथ, फ्रेन्ड्स, सातदोबाटो युथ, ब्रिगेड ब्वाइज