चीनमा भ्रष्टाचार अभियोगमा प्रतिरक्षा कम्पनीका पूर्वप्रमुख पक्राउ

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

चीनको सरकार नियन्त्रित प्रतिरक्षासम्बन्धी कम्पनी नर्थ इन्डस्ट्रिज ग्रुप कम्पनीका पूर्वप्रमुख यिन जियासु पक्राउ परेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यसमेत रहेका पूर्वप्रमुख यिनलाई प्रहरीले यही साता भ्रष्टाचार अभियोगमा पक्राउ गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। 

चिनियाँ कम्युनिस्ट पार्टीका उक्त कम्पनीका सचिवसमेत रहेका ६५ वर्षीय उनलाई सोमबार पक्राउ गरेर प्रहरीले मुद्दा चलाइरहेको छ। कम्पनीले चिनियाँ जनमुक्ति सेनाका लागि सैन्य सामग्री तथा हतियार उत्पादन गर्दै आएको छ भने विदेशममा समेत हतियार तथा सैन्य सामग्री निर्यात गर्दै आएको छ। यो कम्पनी तेल तथा ग्यास व्यापारमा पनि सामेल छ। उनलाई कानुन उल्लंघनको अभियोगमा गत वैशाखमा नै पार्टी तथा कम्पनीको अध्यक्षबाट चिनियाँ कम्युनिस्ट पार्टीको अनुशासन आयोगले हटाएको थियो। 

पछिल्लो समयमा यो कम्पनी कमजोर हुँदै गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। उनले प्रतिस्पर्धी विदेशी कम्पनी तथा व्यक्तिहरूबाट ठूलो मात्रामा धनरासी र उपहार लिएको र कम्पनीलाई धराशयी बनाएको, आफ्नो व्यक्तिगत विवरणसमेत झुटो पेस गरेकोलगायतको आरोप लागेको छ। स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार यो चिनियाँ कम्पनी विश्वको सबैभन्दा आठौँ ठूलो प्रतिरक्षा सामग्री उत्पादक कम्पनी हो। यो चीनको एभिएसन इन्डस्ट्री कर्पोरेसनपछिको ठूलो कम्पनी हो। 

सुझावित समाचार