नेकपा (एमाले) ले १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या तय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले १ हजार ९९९ महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको केन्द्रीय सदस्य खगराज अधिकारीले नयाँ पत्रिकालाई जानकारी दिए।
बैठकमा प्रतिनिधिको संख्या बढाउन केन्द्रीय सदस्यले माग गरेका थिए। यसअघि स्थायी कमिटी बैठकले १५ सय ३६ जना प्रतिनिधि बनाउने निर्णय गरेको थियो। केन्द्रीय कमिटी बैठकमा संगठन विभाग प्रमुखले १ हजार ५२ को प्रस्ताव पेस गरेका थिए। बैठकले कात्तिक २७ गते एकैदिन महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए। एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ।