बालअस्पताल निर्माणका लागि काठमाडौं महानगरको चार करोड आर्थिक सहयोग

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि विशिष्टीकृत सेवा दिने उद्देश्यका साथ विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। बुढानीलकण्ठमा निर्माण गर्ने उक्त अस्पतालका लागि काठमाडौं महानगरपालिकाले चार करोड आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरेको हो। 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौं इन्स्टिच्युट  अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डा. भगवान कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले मुलुक संघीयतामा गइसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए। ‘संघीय राजधानीबाट पाउने स्वास्थ्य सेवा अन्य प्रदेशबाट पनि प्राप्त गर्ने वातावरण निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्छु,’ शाक्यले भने, ‘निजी क्षेत्रले स्वास्थ्यमा लगानी गर्न चाहन्छ भने त्यसका लागि समेत उपयुक्त वातावरण निर्माण गरेर अबका दिनमा स्वास्थ्य सेवाका लागि नागरिकले संघीय राजधानी नै धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ ।’ 

प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै चाइल्ड हेल्थ अस्पताल निर्माणका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए। ‘विशेषज्ञहरूको समूहले बालबालिकाको उपचारलाई केन्द्रित गरेर अस्पताल निर्माणको अभियान अघि बढाउनुभएको छ,’ शाक्यले भने, ‘सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिने गरी अघि बढ्नुहोला, हामी सहयोगको हात अझै अघि बढाउन तयार छौँ ।’ प्रमुख शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउन सकून् भनेर कोभिडका वेला विभिन्न सरकारी र सामुदायिक अस्पताललाई आइसियू भेन्टिलेटर प्रदान गरेको पनि स्मरण गराए।

डा. कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाकाे सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टीकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताए। ‘बालबालिकाका प्रत्येक रोगका बालरोगविज्ञहरूलाई एउटै छानमुनि राखेर काठमाडौंबाट सेवा दिने सामुहिक सपनालाई मूर्त रूप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौँ,’ कोइरालाले भने, ‘हामीले प्रत्येक प्रदेशमा पनि विशेषज्ञसहितको सेवा दिने योजनासहित अस्पताल निर्माणको काम अघि बढाएका छौँ । त्यही अभियानअन्तर्गत प्रदेश एकबाट हामी छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ ।’

सुझावित समाचार