कोभिड–१९ महामारी मात्रै होइन, मानवतामाथि अनन्तकालदेखि कहर बर्साइरहेका असंख्य रोगका लागि पनि भाइरसहरू नै जिम्मेवार छन् । यस अर्थमा भाइरस बदनाम छन् । मलगायत थुप्रै जीववैज्ञानिक ब्याक्टेरियोफेसेजजस्ता ब्याक्टेरियालाई संक्रमण गर्ने विशेष किसिमका भाइरसका प्रकारको अस्तित्व हुन्छ भन्नेमा विश्वास गर्छौँ । जब यी भाइरसहरूको डिएनएलाई कोषले कब्जा गर्छ तब डिएनएले कोषलाई नयाँ चाल चाल्न निर्देशित गर्छ । ब्याक्टेरियोफेसेज वा छोटकरीमा फेसेजले जमिन र समुद्र दुवै ठाउँमा ब्याक्टेरियाको संख्यालाई नियन्त्रणमा राख्छ ।
फेसेजले हरेक दिन करिब ४० प्रतिशत ब्याक्टेरियालाई मार्छ जसले ब्याक्टेरिया वृद्धि र जैविक वस्तुको पुनर्विस्तारमा नियन्त्रण गर्छ । फेसेजले छनोट गरेर ब्याक्टेरिया मार्ने गुणका कारण चिकित्सकहरू उत्साहित छन् । एन्टिबायोटिकले निको नहुने ब्याक्टेरिया संक्रमणको उपचार गर्न प्राकृतिक र प्रयोगशालामा निर्मित फेसेजहरूलाई सफलतापूर्वक प्रयोग गरिएको छ । फेज थेरापी भनेर चिनिने यो प्रक्रियाले एन्टिबायोटिक प्रतिरोधसँग पनि लड्न सक्छ ।
हालैको एक अनुसन्धानले फेसेजहरूको अर्काे महत्वपूर्ण काम पत्ता लगाएको छ । उक्त अनुसन्धानले फेसेज प्रकृतिको अनुवांशिक मर्मतकर्ता हो भनेर देखाएको छ जसले नवीन वंशाणुको निर्माण गरेर कोषलाई नयाँ प्रकार्य उपलब्ध गराउँछ । विश्वभर सबैभन्दा धेरै संख्यामा रहेको जीव फेसेज हो । पृथ्वीमा फेसेजको संख्या सरदर एक नोनिलियन अर्थात् एकपछि ३१ शून्य बराबर (१० हजार खर्ब गुना हजार खर्बौँ) छ । अरू भाइरसहरूझैँ फेसेजमा पनि अत्यधिक प्रतिकृति एवं उत्परिवर्तन (रिप्लिकेसन एन्ड म्युटेसन) दर हुन्छ । यसको अर्थ हो, हरेकपटक जब यी फेसेजहरूमा प्रजनन हुन्छ तब भिन्न गुणसहित नयाँ भेरियन्टको उत्पादन हुन्छ ।
अधिकांश फेसेजहरूमा ठोस आवरण क्याप्सिड हुन्छ जसमा वंशाणुगत तत्व हुन्छन् । अधिकांश क्याप्सिडमा फेजका लागि डिएनए प्रतिकृतिका लागि चाहिनेभन्दा बढी ठाउँ हुन्छ । यसको अर्थ, फेजले अतिरिक्त वंशाणुगत पदार्थ बोक्ने सामथ्र्य राख्छ अर्थात् फेजको अस्तित्वसँग सम्बन्धित नरहेका वंशाणुहरू आफ्ना इच्छाअनुसार परिवर्तित हुन सक्छन् । शान्त र विषालु गरेर फेसेज दुई प्रकारका छन् । विषालु फेसेजहरू अन्य भाइरसहरूझैँ कोष अतिक्रमण, अनुकृति निर्माण एवं मार्ने कार्यमा लाग्छन् । यी फेसेजहरू कोषमा प्रवेश गर्छन् र कोषका वस्तुहरूमा नियन्त्रण जमाउँछन, ती वस्तुहरूको नक्कल गर्छन् र अन्त्यमा विस्फोट हुन्छन् । अर्कातिर, शान्त फेसेजहरू लामो प्रक्रियामा संलग्न हुन्छन् । यी फेसेजहरू आफ्नो डिएनएलाई कोषको डिएनएसँग समिश्रण गराउँछन र बाह्य कुनै वस्तुले सक्रिय नगराउन्जेलसम्म लामो समयसम्म निष्क्रिय रहन्छन् । एकपटक सक्रिय भइसकेपछि यी फेसेजहरूले विषालु गुण देखाउन थाल्छन् अर्थात् नक्कल गर्छन् र विस्फोट हुन्छन् ।
फेसेजले छनोट गरेर ब्याक्टेरिया मार्ने गुणका कारण चिकित्सक उत्साहित छन् । एन्टिबायोटिकले निको नहुने ब्याक्टेरिया संक्रमणको उपचार गर्न प्राकृतिक र प्रयोगशालामा निर्मित फेसेजलाई सफलतापूर्वक प्रयोग गरिएको छ ।
थुप्रै फेसेजहरूले आफ्नो डिएनए अवशेषलाई सक्रियकर्ता बनाउँछन् । यसलाई समस्या पर्दा आफ्नो साथीलाई गुहारेको अवस्थालाई बुझ्न सकिन्छ । यदि कोषको डिएनए नष्ट हुन्छ भने उक्त कोषमा रहेको फेसेज अर्काे कोषमा जाने सम्भावना धेरै हुन्छ, फेसेज चलाखीपूर्ण रूपमा बाहिर निस्कन सफल हुन्छ । फेसेजलाई प्रतिकृति र विस्फोटन गराउन निर्देशित गर्ने वंशाणुहरू डिएनएको विनाश नहुन्जेल रोकिँदैनन । ब्याक्टेरियाले जीवनचक्रलाई निर्देशन गर्ने जटिल वंशाणुगत व्यवस्था प्रक्रियालाई पुनः मर्मत गर्छ भन्ने विषयमा म र मेरा सहकर्मीहरू दुई दशकदेखि अध्ययनरत छौँ । ब्याक्टेरियाका कोषहरू पनि आफ्नो डिएनए नष्ट हुने नहुनेबारे जान्न इच्छुक हुन्छन् । यदि ब्याक्टेरियाको कोषले आफ्नो डिएनए नष्ट हुने हो भन्ने थाहा पाएपछि कोषका वंशाणुहरूलाई डिएनए मर्मतका लागि परिचालन गर्छ । जब डिएनए मर्मत असफल हुन्छ कोष मर्छ ।
ब्याक्टेरियल र फेज स्विच विकासक्रमसँग जोडिएको छ भन्ने कुरा अनौठो होइन । यद्यपि, यो तथ्यले स्विचको आविष्कार ब्याक्टेरिया वा भाइरसहरूले गरेको हो त भन्ने प्रश्न खडा गर्छ । हाम्रो र अन्य अनुसन्धाताहरूको अनुसन्धानले पनि स्विचको उत्पत्ति फेजले गरेको देखाउँछ । हाम्रो हालैको अध्ययनमा आन्द्रामा हुने ब्यक्टेरियोडेट्सको एसओएस प्रतिक्रिया पत्ता लगाएका छौँ । फेज स्विचको नियन्त्रणले ती ब्याक्टेरियाहरूको जटिल अनुवांशिक गतिविधिहरूको मर्मत हुन्छ । यसले ब्याक्टेरियल एसओएस स्विचहरू फेज स्विच नै हुन्, जुन अर्बाैँ वर्ष पहिले निर्मित भएको देखिन्छ । ब्याक्टेरियल स्विच मात्रै फेजको आविष्कारक होइन । शोधहरूले कोषीय विभाजनका लागि चाहिने ब्याक्टेरियल वंशाणु फेज विषालु वंशाणुकै एक स्वरूप हो भन्ने देखाएको छ । थुप्रै ब्याक्टेरियल प्रतिरोधी व्यवस्थाले विषालु वंशाणुको प्रयोग गर्छन् ।
तपाईंहरूलाई फेसेज धेरै उपयोगी लाग्न सक्छ, तर हामीलाई संक्रमण गर्ने भाइरसहरू निश्चित रूपमा फाइदाजनक हुँदैनन् । यद्यपि, भाइरसहरू वनस्पति एवं जनावरमा हुने अनुवांशिक परिवर्तनको मुख्य स्रोत हुन् भन्ने प्रशस्त प्रमाण छन् । उदाहरणका लागि केही डोमेस्टिकेटेड भाइरस वंशाणुहरूको स्तनघारी जीवको सालनालको विकासक्रम र मानवको छालालाई नरम एवं मुलायम बनाउन भूमिका खेलेको हुन्छ ।
हालैको अध्ययनमा डिएनएको घर मानिने कोषीय न्युक्लस पनि भाइरसको सिर्जना हो भन्ने प्रमाण सतहमा आएका छन् । शोधकर्ताहरूले अहिलेका भाइरसका पुर्खाहरूले डिएनएलाई जीवनको प्रमुख आधार बनाएको हुन सक्ने पनि देखाएका छन्, जुन निकै ठूलो वैज्ञानिक उपलब्धि हो । भाइरसहरू स्वभावतः खलपात्र हुन् भन्ने ठान्नुहुन्छ भने तपाईं सम्भवतः गलत हुनुहुन्छ किनभने भाइरस अनुवांशिक विकासको कोसेढुंगा हो । सम्भवतः मानव जातिको अस्तित्वको कारण नै भाइरस हो ।