सुडानमा सेनाले सोमबार गरेको ‘कु’का विरुद्धमा व्यापक विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शनलाई नियन्त्रण गर्न सरकारी सुरक्षाकर्मीहरूले दमन गर्दा कम्तीमा सातजनाको मृत्यु भएको छ भने अरू एक सय ४० जना घाइते भएका छन्।
नागरिक अगुवा र सैनिक प्रतिनिधिहरू सामेल भएर बनाइएको सरकारलाई अपदस्त गर्दै सैनिक नेतृत्वले सैन्य शासन लागू भएको घोषणा गरेपछि सुडानमा विरोध प्रदर्शन सुरु भएको हो। प्रदर्शनका लागि हजारौँ नागरिक सडकमा उत्रिएका छन् भने प्रदर्शनलाई निस्तेज पार्न सुरक्षाकर्मीहरू पनि ठूलो संख्यामा परिचालन गरिएका छन्।
अन्तरिम सरकारलाई बर्खास्त गरेको घोषणा गर्दै तत्कालीन प्रधानमन्त्री अब्दल्ला हम्डकसहित राजनीतिक दलका धेरै नेताहरूलाई सेनाले नियन्त्रणमा लिएको छ। सैनिक सरकारले संकटकालको घोषणा गरेपछि राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शनका आयोजकहरूलाई पक्राउ गरेको छ।
सैन्य ‘कु’को विश्वभरिबाट पनि विरोध भइरहेको छ । अमेरिकाले सैन्य ‘कु’प्रति आपत्ति जनाउँदै सुडानलाई सहायतास्वरूप दिने भनेको ७० करोड डलर नदिने घोषणा गरेको छ। तर, ‘कु’को नेतृत्व गरेका सैन्य प्रमुख जनरल अब्देल फतह बुर्हानले भने दलहरूबीचको राजनीतिक झगडाका कारण सेनाले राजनीतिक जिम्मेवारी पनि लिनुपरेको दाबी गरेका छन्।
सुडानमा लामो समय शासन गरेका ओमार अल बसिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र राजनीतिक दलका नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ। प्रदर्शनमा महिलाहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ। प्रदर्शनकारी सबैले सैन्य शासन आफूहरूलाई अस्वीकार्य रहेको बताउने गरेका छन्।
उनीहरूले सैनिक मुख्यालयअगाडि नै प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्नुका साथै सडकमा डायर बाल्ने, नारा–जुलुस गर्नेलगायतका विरोधका कार्यक्रमहरू गरिरहेका छन्।
विमान सेवा, सञ्चार सेवा, इन्टरनेट सेवालगायतमा भने सरकारले नै अवरोध गरेको छ। प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूले गोली प्रहार गरी घाइते भएकाहरूलाई राजधानी खार्तुमका विभिन्न अस्पतालहरूमा उपचार गराइएको छ । सैन्य ‘कु’को विरुद्धमा चिकित्सकहरूसमेत आन्दोलित भएकाले चिकित्सकहरूले पनि आकस्मिक सेवामा बाहेक सेनाले चलाएको अस्पतालमा काम गर्न अस्वीकार गरेका छन्। त्यसैगरी केन्द्रीय बैंकका कर्मचारीसहित विभिन्न पेसा, व्यवसाय र रोजगारीमा रहेकाहरू पनि आन्दोलित भएका छन्।
तत्कालीन सरकारले गरेको मूल्यवृद्धिको विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो । प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिकस्तरको संक्रमणकालीन सरकारका रूपमा गठन भएको थियो। सर्वपक्षीय सहमतिमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो।