पाटनमा कार्तिक नाचको तयारी गरिँदै, आर्थिक अभावका कारण केही नाच मात्रै मञ्चन गरिने

सोमबार, ८ कार्तिक, २०७८
डिजिटल संस्करण

पाटन दरबार क्षेत्रको चर्चित कार्तिक नाचको तयारी सुरु गरिएको छ। तिहारलगत्तै सुरु हुने नाचका लागि कार्तिक नाच संरक्षण समितिले कलाकारलाई तालिम दिन थालेको छ। 

पाटन संग्रहालयभित्र सुरु गरिएको तालिममा विभिन्न नाचसँग सम्बन्धित करिब १५ जना कलाकार उपस्थित छन्। उनीहरूलाई विभिन्न देवताको अवतारका रूपमा कसरी प्रस्तुत हुने र नाच मञ्चन कसरी गर्ने भन्ने विषयमा तालिम दिन सुरु गरिएको समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए। 

उनका अनुसार यो वर्ष ६ दिनसम्म नाच देखाइने तयारी गरिएको छ। गत वर्ष कोरोना संक्रमणका कारण दुई दिन मात्रै यो नाच मञ्चन गरिएको थियो। यो वर्ष लम्ब्याउने तयारी भएको चित्रकारले जानकारी दिए। ‘यो नाच निकै लामो नाच हो, यस वर्ष पनि हामीले पूरा नाच देखाउन सक्दैनौँ किनभने बजेटको अभाव छ,’ उनले भने, ‘कलाकार तयार गर्न र आर्थिक व्यवस्थापन गर्न निकै कठिन छ।’ 

कार्तिक नाचलाई अल्छी जनता जगाउने नाचका रूपमा लिइन्छ। यो नाच हेरेपछि हौसला तथा जोस–जाँगर प्राप्त हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ। 

तीन सय ७६ वर्ष पुरानो यो नाच राजा सिद्धिनरसिंह मल्लले सुरु गरेका थिए। किंवदन्तीअनुसार देशमा बिघ्न–बाधा नआओस्, शान्ति–सुव्यवस्था कायम होस् र जनता सुखी तथा जोसिला होऊन् भन्ने मान्यता राखिन्छ। तत्कालीन समयमा ललितपुरका बासिन्दा जोस–जाँगररहित भएपछि राजा सिद्धिनरसिंह मल्लले ज्योतिषीसँग जनतालाई जोस जागरयुक्त पार्ने सल्लाह लिएका थिए। 

जोतिषीले राज्यमा ‘मघाह’ दोष परेकाले राज्य सञ्चालन कठिन हुन पुगेको राजालाई बताएका थिए। उक्त दोष हटाउन ज्योतिषले नरबलि दिन राजालाई सुझाव दिएका थिए।  त्यसपछि ललितपुरवासीमा जोस–जाँगर आएको किंवदन्ती छ। 

नरबलि अनुचित ठान्दै सिद्धिनरसिंहले मुकुट र हिरण्य पात्र बनाई कार्तिक नाच सुरु गरेका थिए। 

यसभित्र उषा र अनिरुद्र शृंगारको कथा, देवी प्याँख, युद्धकला, वाणासुयात सहश्रभुज त्वाल्हाइगु, जल शयण, मधु–कैटभ वध, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला दधिलीलालगायत नाच समावेश छन्।

सुझावित समाचार