युरोपियन च्यापियन्स लिग फुटबल प्रतियोगितामा मंगलबार राति लिभरपुलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । इंग्लिस क्लब लिभरपुलको जितमा स्ट्राइकर मोहमद सलाहले दुई गोल गरेका थिए । खेलको ५२औँ मिनेटमा म्याड्रिड दश खेलाडीमा सीमित भएको थियो ।
फ्रेन्च खेलाडी एन्टोनिया ग्रिजम्यानले रातो कार्ड व्यहोर्दा म्याड्रिडले ५२औँ मिनेटपछि दश खेलाडीमा सीमित रहँदै लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्यो । ग्रिजम्यानले म्याड्रिडका लागि दुवै गोल गरेका थिए । खेलको आठौँ मिनेटमा सलाहले लिभरपुललाई १–० को अग्रता दिलाए । खेलको १३औँ मिनेटमा केइटाले लिभरपुललाई २–० को स्थितिमा राखे । खेलको २०औँ मिनेटमै ग्रिजम्यानको गोलसँगै म्याड्रिडले २–१ को गोलअन्तर बनाएको थियो ।
ग्रिजम्यानले ३४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दा म्याड्रिड २–२ को बराबरीमा पुग्यो । खेलको ७८औँ मिनेटमा सलाहले पेनाल्टी गोल गर्दै लिभरपुललाई ३–२ को रोमाञ्चक जित दिलाए । प्रशिक्षक जर्गेन क्लोप्सको प्रशिक्षणमा लिभरपुल लगातार २१ खेलमा अपराजित छ । लिभरपुलले पछिल्लो नौ खेलमा विपक्षी पोस्टमा ३० गोल गरेको छ । जितसँगै लिभरपुलले समूह बीमा तीन खेलबाट सर्वाधिक नौ अंक जोड्दै शीर्ष स्थान बलियो बनाएको छ ।
म्याड्रिड चार अंकका साथ दोस्रो स्थानमा छ । यस समूहमा एफसी पोर्टोले पनि चार अंक जोडेको छ । पोर्टो तेस्रो स्थानमा छ । पूर्वविजेता इटालियन क्लब एसी मिलानले अहिलेसम्म तीन खेलमा खाता नै खोलेको छैन ।
सिटीको सानदार जित
समूह एमा म्यानचेस्टर सिटीले क्लब ब्रुगेसमाथि ५–१ को सानदार जित हात पार्यो । जितसँगै सिटीले तीन खेलबाट ६ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा छ । सिटीसँग पराजित ब्रुगेस चार अंकका साथ तेस्रो स्थानमा छ । ब्रुगेसमाथि सिटीले एकपक्षीय खेल नियन्त्रणमा राख्यो । खेलमा रियाद महरेजले दुई गोल गरेका थिए । खेलको ३०औँ मिनेटमा कान्सेलोले सिटीलाई १–० को अग्रता दिलाए । खेलको ४३औँ मिनेटमा महरेजले सिटीलाई २–० को अवस्थामा राखे । ब्रुगेसले सिटीलाई पहिलो हाफमा दुई गोलमै रोकेको थियो ।
इन्टरले सेरिफलाई हरायो
समूह डीमा सिरिए क्लब इन्टर मिलानले सेरिफ टिरास्पोललाई ३–१ ले पाखा लगाएको छ । एन्टरसँग पराजित भए पनि समूहमा सेरिफ ६ अंकका साथ शीर्ष स्थानमै छ । रियल ६ अंकका साथ दोस्रो स्थानमा छ । इन्टर चार अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । इन्टरको जितमा डजेको, भिडाल तथा डे भर्जीले एक–एक गोल गरेका थिए । यता, अर्को इटालियन क्लब एसी मिलान भने एफसी पोर्टोसँग १–० ले स्तब्ध भयो ।
यसैगरी, एज्याक्सले बुन्डेस क्लब बोरुसिया डर्टमुन्डमाथि ४–० को सानदार जित निकाल्यो । समूह सीमा एज्याक्सले प्रभावशाली जित निकाल्दा डर्टमुन्डका रेउसले खेलको ११औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यसपछि खेलको २५औँ मिनेटमा एज्याक्सका ब्लिन्ड, ५७औँ मिनेटमा सान्तोष तथा खेलको ७२औँ मिनेटमा हालेरले एज्याक्सको ४–० को जित पक्का पारे ।