लगातारको वर्षासँगै आएको पहिरोले घर पुरिँदा धनकुटाको चौबिसे गाउँपालिका– १ स्थित बुधबारे बजारमा ६ जनाको मृत्यु भएको छ । गएराति वर्षासँगै आएको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा वर्ष ६० का भीमबहादुर श्रेष्ठ, वर्ष नाैका नाति विनोद श्रेष्ठ, वर्ष पाँचकी नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका– ११ का वर्ष ३९ का सञ्जीव श्रेष्ठ, वर्ष ३८ की लक्ष्मी श्रेष्ठ र वर्ष सातका दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी दीपककुमार रायाले बताए । सोही घटनामा परी ६ जना घाइते भएका छन् । घाइतेमध्ये वर्ष ३१ का भेषबहादुर श्रेष्ठ, वर्ष २९ की लीला श्रेष्ठ र वर्ष ५४ की गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले बताए ।
गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ को सञ्जाल श्रेष्ठ र वर्ष २८ को चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको डिएसपी रायाले बताए । घटनास्थल बुधबारे प्रहरी चौकीदेखि चार किलोमिटर टाढा रहेको छ । यसैबीच सोही वडाको सौरेबजारमा दिलीप गजमेरको घर पनि पहिरोले पूर्ण रूपमा बगाएको छ । तर, मानवीय क्षति भने नभएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन् ।
यता वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । साँगुरीगढी गाउँपालिका– ६, फेदीमा दुई सय मिटर सडक लेउती खोलाले बगाउँदा हिजो (मंगलबार) देखि नै सडक अवरुद्ध रहेको छ । अहिलेसम्म पानीको सतह नघटेकाले तत्काल बाटो खुल्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए । सडक बगाएको आसपासको क्षेत्रमा दर्जनौँ स्थानमा सडक भत्किएकाले पानीको सतह घटेपछि मात्र सडक डाइर्भसनको कार्य सुरु हुने प्रजिअ पन्थले बताए ।
यसका साथै जिल्लाका सहायक राजमार्गहरू भेडेटार–राजारानी–बुधबारे–राँके–रवि सडक, तमोर करिडोर, हिले–लेगुवा–भोजपुर सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।