रौतहटको गौर नगरपालिका र इशनाथ नगरपालिका जोड्न लालबकैया नदीको टिकुलियाघाटमा सात वर्षअघि निर्माण गर्न थालिएको पुल अलपत्र परेको छ । पुल निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले बारम्बार लापरबाही गर्दा पुल बन्न नसकेको हो ।
गौर नगरपालिका प्रमुख अजय गुप्ता भन्छन्–काम नगरे कारबाही गर्नुपर्छ
सम्झौताअनुसार निर्धारित समयमा पुल निर्माण नगर्ने ठेकेदारलाई कारबाही भएको छैन । त्यसैले उनीहरूकै मनोबल बढेको छ । आफैँले प्रस्ताव गरेको समयभित्र निर्माण सम्पन्न नगर्नेलाई पटकपटक म्याद थपेर पुरस्कृत गर्ने होइन, दण्डित गर्नुपर्छ । तर, यहाँ त ठेकेदारमाथि राज्य उदार देखिएको छ ।
सो पुल निर्माण गर्न २६ असार ०७१ मा पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । २५ असार ०७४ मा सम्पन्न गर्ने गरी सम्झौता भए पनि थप चार वर्ष बितिसक्दा पनि ५० प्रतिशतभन्दा काम अघि बढेको छैन ।
रौतहट सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने सो पुलको लम्बाइ दुई सय २५ मिटरको हुनेछ । तत्कालीन सडक डिभिजन कार्यालय हेटौँडाबाट २० करोड ७२ लाखको लागतमा दुई सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो । पप्पुले लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम कबोल गरी १४ करोड ९३ लाखमै निर्माण सम्पन्न गर्ने प्रस्ताव पेस गरेको थियो । टेन्डर खोल्दा सबैभन्दा कम लागतमा निर्माण गर्ने सो प्रस्ताव स्वीकृत भएपछि पप्पुले पुल निर्माणको ठेक्का पाएको थियो । निर्माण कार्य पूरा गर्ने लिखित गरी पप्पु कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले सम्झौता गरेका थिए । सम्झौतापछि भने सुरुदेखि नै पप्पुले बेवास्ता गरेको थियो ।
निर्माणको काम निरन्तर अघि नबढाउने, तर सम्झौता थपिरहने गरिरहेको पप्पुसँग सडक डिभिजन कार्यालय हेटौँडाले ठेक्का तोड्ने पत्र पठाएपछि पप्पु अदालत पुग्यो । ६ महिनाअघि अदालतले तत्काल सम्झौता तोड्ने निर्णय कार्यान्वयन नगर्नू भन्ने अन्तरिम आदेश दियो । त्यसपछि न डिभिजन कार्यालयले पप्पुसँगको सम्झौता रद्द गर्न सक्यो, न पप्पुले काम अघि बढायो । यसरी पुल अलपत्र परिरहेको छ ।
स्थानीय भन्छन्– जीवन जोखिममा छ
पुल नबन्दा स्थानीय हिउँदमा बाँसको पुल हालेर तथा वर्षामा डुंगा चलाएर ओहोरदोहोर गर्छन् । बर्खामा टिकुलियाघाटमा पानीको बहाव उच्च रहेकाले जोखिम बढेको छ । तर, जोखिमै मोलेर भए पनि वारपार गर्नुपर्ने स्थानीयको बाध्यता छ । ‘समयमा पुल नबन्दा ठूलो सास्ती भइरहेको छ,’ स्थानीय सञ्जय साहले भने, ‘बर्खामा लालबकैयामा ठूलै बाढी आउँछ । त्यस्तोमा निकै जोखिम मोलेर तर्नुपर्छ । ज्यानै जाने पनि खतरा हुन्छ ।’ पुल नबनेकाले डुंगाको सहाराले वारपार गर्ने गरेको उनले बताए । ‘लालबकैया नदीको टिकुलिया घाटमा पटक–पटक डुंगा पल्टिने गरेको छ,’ साहले नयाँ पत्रिकासँग भने, ‘दुई वर्षपहिला डुंगा पल्टिएर पाँचजनाको मृत्यु भएको थियो ।’
बन्जरहा, औरैया, मठिया, जोकहा, वैरिया, अकोलवा, रामपुर खाप दर्जनौँ गाउँका बासिन्दालाई सदरमुकाम गौर आउन हिउँदमा बाँसको पुल र वर्षायाममा डुंगामा जोखिमपूर्ण यात्रा गर्नुपर्छ । सो स्थानमा इशनाथ नगरपालिकाबाट अस्थायी पुल निर्माण गरेको भए पनि त्यो खोलाले बगाइसकेको छ । सो स्थानमा दुई वर्षपहिला डुंगा पल्टिँदा पाँचजनाको ज्यान गएको थियो । पुल नबन्दा चार किलोमिटरमा पुगिने सदरमुकाम गौर पुग्न २० किलोमिटर घुमेर जानुपर्ने वा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको इशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहताले बताए ।
