कास्की, स्याङ्जा र अछाममा जिप दुर्घटना, दसैँ बिदा मनाउन हिँडेका विद्यार्थीसहित १५को मृत्यु

मंगलबार, २६ असोज, २०७८
डिजिटल संस्करण
कास्की, स्याङ्जा र अछाममा जिप दुर्घटना, दसैँ बिदा मनाउन हिँडेका विद्यार्थीसहित १५को मृत्यु

घान्द्रुक जाने क्रममा कास्कीको कलडाँडाभिरको भिरबाट करिब दुई सय मिटर तल खसेको दुर्घटनाग्रस्त जिप । दुर्घटनामा चालकसहित दसैं बिदा मनाउन काठमाडौंबाट गएका सात विद्यार्थीको ज्यान गएको छ । तस्बिर : अमृत गुरुङको फेसबुक वालबाट

कास्की, स्याङ्जा र अछाममा भएका छुट्टाछुट्टै जिप दुर्घटनामा १५ को ज्यान गएको छ । कास्कीमा आठ, अछाममा चार र स्याङ्जामा तीनजनाले ज्यान गुमाएका छन् । दुर्घटनामा दसैँको बिदामा घान्द्रुक घुम्न हिँडेका आन्तरिक पर्यटकदेखि विवाहका जन्तीसम्म परेका छन् । तीनवटै दुर्घटना कच्ची, जीर्ण सडकको कारण भएको छ । कास्कीको कलडाँडाभिरको घुम्तीमा सोमबार दिउँसो भएको दुर्घटनामा आठजनाको ज्यान गुमेको छ । एकजना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा जिपचालक अन्नपूर्ण गाउँपालिका– ५ नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौं– ३ गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौं– ३ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार बिदाको अवसर पारेर आइतबार पोखरा घुम्न आएका उनीहरू सोमबार दिउँसो पोखराको हरिचोकबाट ग.१ज ६९०० नम्बरको जिप चढेर घान्द्रुकतर्फ लागेका थिए । नयाँपुल हुँदै घान्दु्रकतर्फ जाने क्रममा दिउँसो करिब साढे १ बजे दुर्घटनामा परेका हुन् । 

दुर्घटनामा परी घाइते भएकी काठमाडौं– ३ गोंगबुकी २० वर्षीया देविका घिसिङको बायाँहात र नाकमा सामान्य चोट लागेको छ । भिरमा अड्केको अवस्थामा उनलाई स्थानीय र प्रहरीले सकुशल उद्धार गरेका हुन् । 

कास्की दुर्घटनामा ज्यान गुमाउनेमा चालकबाहेक सबैजना विद्यार्थी रहेका प्रहरीले जनाएको छ । डिएसपी हमालले ज्यान गुमाउनेहरू विद्यार्थी भएको खुले पनि अध्ययन गर्ने क्याम्पस खुल्न नसकेको बताए । ‘चालकबाहेक मृत्यु भएका सबै विद्यार्थी हुन् । काठमाडौंबाट घुम्न आएका उनीहरूको बाँकी डिटेल प्राप्त हुन बाँकी छ,’ उनले भने । 

दुर्घटनाको कारण ‘जीर्ण सडक’

कास्की, अछाम र स्याङ्जामा जीर्ण सडकको कारण दुर्घटना भएको देखिन्छ । तीनवटै दुर्घटना कच्ची ठाडो उकालो बाटोमा जिप ब्याक भएर भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित कलडाँडाभिरको सडक निकै जीर्ण छ । जीर्ण सडकमा ठाडो उकालो र घुम्ती कटाउन लाग्दा जिप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कास्कीका प्रहरी प्रवक्ता हमालले बताए । 

घटनास्थल पुगेर फर्किएका डिएसपी हमालले नयाँ पत्रिकासँग भने, ‘बाटो निकै खत्तम रहेछ । साह्रै बिग्रेको छ । उकालो र घुम्ती पनि भएकाले जिप ब्याक भएछ र घुम्तीबाट खसेछ ।’ हमालका अनुसार सडकको माथिल्लो घुम्तीबाट खसेको जिप झन्डै दुई सय मिटर तल सोही सडकमा आएर बजारिएको छ ।

अछाम दुर्घटनामा पनि कच्ची सडकमै ब्याक गर्ने क्रममा दुर्घटना भएको छ । ‘ब्याक गर्ने क्रममा सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भीमबहादुर रावलले भने । स्याङ्जा दुर्घटना पनि कच्ची सडकमै भएको छ । लाखुडाँडातर्फ जाँदै गरेको जिप ठाडो कच्ची उकालो कट्ने क्रममा झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको हो । सो जिपमा चालकसहित १९ यात्रु थिए । क्षमताभन्दा बढी यात्रु चढेकाले पनि सो दुर्घटना भएको अनुमान छ । 

स्याङ्जामा तीनले ज्यान गुमाए, १४ जना घाइते

स्याङ्जाको वालिङ– १० मदीखोलानजिकै आइतबार राति भएको जिप दुर्घटनामा पनि तीनजनाले ज्यान गुमाएका छन् । १४ जना घाइते भएका छन् । प्रहरीका अनुसार ज्यान गुमाउनेमा गल्याङ– १० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली, ३२ वर्षीया गंगा र गाउँसौराकी चार वर्षीया बालिका करिश्मा थापा छन् ।
स्याङ्जाका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार दलबहादुर र गंगाको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा र करिश्माको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गुमेको हो । वालिङबाट गल्याङ– १० लाखुडाँडातर्फ जाँदै गरेको ग.१ज ४९१८ नम्बरको जिप कच्ची उकालो बाटोबाट झन्डै ५० मिटर तल खसेको थियो । जिपमा चालकसहित १९ यात्रु थिए । घाइतेहरूको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । 

अछाममा जन्ती बोकेको जिप खस्दा चारको मृत्यु

अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका– १, कुइकामा आइतबार राति से.१च ७१६३ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा १४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिका– २ का १८ वर्षीय सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपाली तथा ३ का १८ वर्षीय जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जैसीको घटनास्थलमै मृत्यु भएको हो । नेपालीको उपचारका क्रममा र अन्य दुईको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पञ्चदेवल विनायक– १, कुइकामा दुलाहाको घरनजिकै ब्याक गर्ने क्रममा जिप सडकबाट करिब दुई सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भीमबहादुर रावलले जानकारी दिए । गम्भीर अवस्थाका घाइते मदन धामी र उपेन्द्र शाहीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । थप दुईजनाको बयलपाटा अस्पताल र बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सुझावित समाचार