कुपोषण चुनौती : ब्ल्यु फुड्स एक समाधान

सोमबार, २५ असोज, २०७८
डिजिटल संस्करण

खाद्य आपूर्तिको सम्भावित कमी पूरा गर्न समुद्री एवं गैरसमुद्री जलाशयमा रहेका र खेती वा पालन गर्न सकिने माछा, घोंघी, लेउलगायत ‘ब्ल्यु फुड्स’जस्ता खाद्यपदार्थ काम लाग्न सक्छन्


हाम्रो खाद्य व्यवस्थाले हाल तीन अर्ब मानिसलाई कुपोषित बनाएको छ भने बढ्दो एवं अनिश्चित जलवायु परिवर्तनबीच सन् २०५० सम्ममा १० अर्ब मानिसलाई खाद्य प्रबन्ध गर्नुपर्नेछ । खाद्य आपूर्तिको सम्भावित कमी पूरा गर्न समुद्री एवं गैरसमुद्री जलाशयमा रहेका र खेती वा पालन गर्न सकिने माछा, घोंघी, लेउलगायत ‘ब्ल्यु फुड्स’ जस्ता खाद्य पदार्थ काम लाग्न सक्छन् । र ब्ल्यु फुड्स भविष्यका लागि प्रभावकारी खाद्य व्यवस्थाको निर्माणमा सहयोगी हुनेछ । ब्ल्यु फुड एसेस्मेन्ट्स (बिएफए) को एक ऐतिहासिक अध्ययनले विश्वका जलाशयबाट खाद्य मामिलामा प्रशस्त लाभ लिन सक्ने अवसर देखाएको छ ।      

जलाशय खाद्य पदार्थको माग सन् २०५० सम्ममा दुई गुणाले बढ्ने सम्भावना रहेको सन्दर्भमा शोधकर्ताहरूले ब्ल्यु फुड्सको उत्पादनको दायरा बढाउँदा जनस्वास्थ्य देखिने गरी सकारात्मक प्रभाव पार्ने बताएका छन् । उनीहरूका अनुसार आपूर्तिमा आठ प्रतिशतमा अतिरिक्त वृद्धिले ब्ल्यु फुड्सको मूल्य घटाउनेछ । यसले गरिब घरधुरीलाई खाद्य खरिदमा सहजता मात्रै ल्याउनेछैन, करिब १६ करोड ६० लाख कुपोषणका मामिला पनि निवारण गर्नेछ । त्यसबाहेक ब्ल्यु फुड्स उत्पादनको दायरा बढाउँदा त्यसले चार मुलुकमध्ये तीन मुलुकका महिलालाई लाभ पनि पु¥याउनेछ । बढ्दो मागबीच ब्ल्यु फुड्समा व्यापक सुधार अत्यावश्यक छ, जहाँ निपुणता, दिगोपन एवं समतामा भने ध्यान पु¥याउनुपर्छ । जलवायु परिवर्तन र कुपोषणको वैश्विक चुनौतीमाझ ब्ल्यु फुड्समा व्यापक सुधारका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ ।

पहिलो, हामीले ब्ल्यु फुड्सलाई पनि अन्य खाद्य पदार्थजत्तिकै महत्व दिनुपर्छ । हाम्रा खाद्य व्यवस्था मूलतः कृषिमा आधारित नीति तथा कार्यक्रममा अडिएको छ, जहाँ ब्ल्यु फुड्स उपेक्षित छ । ब्ल्यु फुड्सले तीन अर्बभन्दा बढी मानिसलाई पोषण उपलब्ध गराएको छ र यसले भविष्यका सम्भावित चुनौती सामना गर्ने सामथ्र्य राख्छ । दोस्रो, हामीले ब्ल्यु फुड्सको बृहत् विविधताको पूर्ण सदुपयोग गर्नुपर्छ । हामी २५ सयभन्दा बढी जलाशयका जीवलाई खानाका रूपमा सेवन गर्छौं । पोषणका आधारमा पनि ती खाद्य पदार्थमा विविधता पाउन सकिन्छ । उदाहरणका लागि पेलाजिक प्रजातिका एंकोबिज र सर्डाइन्स माछामा सामान्य तिलापिया माछाभन्दा आठ गुणा बढी आइरन, पाँच गुणा बढी ओमेगा–३, फ्याट्टी एसिड्स र चार गुणा बढी भिटामिन बी–१२ हुन्छ । 

ब्ल्यु फुड्स उत्पादन प्रणालीले जलवायु एवं वातवरणमा मिश्रित प्रभाव पार्छ । समुद्रको पिँधमै जाली लगाएर माछाको सिकार गर्ने विधि बटम ट्रलिङले उच्च हरितगृह ग्यास उत्सर्जन निम्त्याउँछ भने द्विकपाटी र समुद्री सिवारले कार्बन उत्सर्जनलाई घटाउने काम गरिदिन्छ । हाम्रो अनुसन्धानले ब्ल्यु फुड्समा व्यापक विविधता अपनाए स्वाद एवं पोषण न्यून वातावरणीय क्षति र समतामूलक जीविकाको आधारमा हासिल गर्न सकिन्छ ।

तर, यसका लागि ब्ल्यु फुड्स उत्पादन क्षेत्रका विभिन्न अंगमा गरिने अभ्यासको सुदृढीकरण गरिनुपर्छ । विशेषतः विभिन्न माछा, द्विकपाटी, समुद्री सिवारहरूको उपभोग गरेर ब्ल्यु फुड्सको दायरा बढाउनुपर्छ । तेस्रो, ब्ल्यु फुड्सका साना उत्पादकलाई मान्यता दिइनुपर्छ र प्रोत्साहन गरिनुपर्छ । साना उत्पादकले मानवीय उपभोगका लागि सबैभन्दा बढी ब्ल्यु फुड्सको उत्पादन, तयारी एवं बिक्री गर्छन् र त्यसका साथै लाखौँ मानिसको जीविका पनि सुरक्षित गर्छन् ।          

यति हुँदाहुँदै पनि यी साना उत्पादक नीति–निर्माता एवं बजारबाट उपेक्षित हुन्छन् । नीति–निर्माता एवं बजारले ठूला एवं औद्योगिक उत्पादनलाई मात्रै प्रोत्साहन गर्छन् । ब्ल्यु फुड्सको व्यवस्थापनमा साना उत्पादकको भागेदारी अपरिहार्य छ । यति मात्रै होइन, साना उत्पादकलाई बजार, वित्तीय पहुँच र दिगो उत्पादनका लागि स्रोत उपलब्ध गराइनुपर्छ । अन्त्यमा, अन्य खाद्य व्यवस्थाझैँ ब्ल्यु फुड्स व्यवस्था पनि जलवायु परिवर्तनको चपेटामा पर्ने देखिन्छ । ब्ल्यु फुड्स क्षेत्रले हरितगृह उत्सर्जन कम गर्न आफ्ना तर्फबाट सक्दो प्रयास गर्नुपर्छ ।

उदाहरण– मत्स्य व्यवस्थापन, जहाँ माझीहरूले तोकिएको कोटाभित्र रही मात्रै माछा मार्न पाउनुपर्छ । जलवायु परिवर्तनका नतिजासँग सामना गर्नका लागि अनुसन्धानमा पनि लगानी गरिनुपर्छ । हाम्रो अनुसन्धानले ब्ल्यु फुड्सको उपभोग गर्ने मुलुक एवं समुदाय जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिममा रहेका छन् । जलवायुसम्बन्धी पेरिस लक्ष्य प्राप्त गरे पनि ५० भन्दा बढी मुलुक ब्ल्यु फुड्सबाट आउने लाभबाट वञ्चित हुने जोखिम बढ्नेछ । सन् २०३० को दिगो विकास लक्ष्य प्राप्तिका लागि माछा मार्ने नौवटा मौसम बाँकी रहेको सन्दर्भमा अनुसन्धानले जलवायु परिवर्तन एवं बढ्दो कुपोषणका चुनौतीलाई परास्त गर्न ब्ल्यु फुड्स सबैभन्दा उत्तम उपाय हो भन्ने देखाएको छ । अर्थात् यी वैश्विक चुनौतीलाई अन्ततः हामी सामना गर्न सक्छौँ तर हामीले ब्ल्यु फुड्सको बृहत् क्षमताको महत्व बुझ्न आवश्यक छ । अलजजिराबाट          

सुझावित समाचार