धोबी र कुर्मीको न्यायका लागि माइतीघरमा आज पनि धर्ना

आइतबार, २४ असोज, २०७८
डिजिटल संस्करण
धोबी र कुर्मीको न्यायका लागि माइतीघरमा आज पनि धर्ना

फाइल फोटो।

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि स्थानीयहरूले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्। पीडितको न्यायका लागि भन्दै नेपालगन्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका पीडित परिवारका १५ सदस्यहरूले माइतीघरमा धर्ना दिएका हुन्।

पीडित परिवारले धोबी र कुर्मी दुवैको हत्यारालाई कारबाहीको माग गरेका छन्। बाँकेमा दुई महिलाहरू नकुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भए पनि स्थानीय प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाही माग गरी असोज १ गतेदेखि नेपालगन्जबाट पैदल यात्रा गरेको हो।

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषीउपर कारबाही प्रक्रिया अगाडि नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग गरेका छन्। धर्नामा बसेकी स्थानीय आप्दा धोबीले माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताइन्।

पीडितहरूले बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटाे रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न गएकाहरूमाथि दुर्व्यवहार गरेको बताएका छन्। पीडित कुर्मी र धोबीको हत्यापछि बाँकेमा न्याय नमिलेको भन्दै असोज १ गते पीडित परिवारका सदस्यहरू काठमाडौंका लागि पैदल हिँडेका थिए।

See More On

सुझावित समाचार