काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको विकास हेर्न, सुन्न र महसुस गर्न सकिने ठाउँमा पुगेको दाबी गरेका छन्। वडा नं. ६ रामहिटीमा साहित्यकारहरूका लागि सुविधा भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्।
‘हामी स्थानीय निर्वाचनको दौरानमा हिँड्दा बेलुका कपडा हेर्नै नहुने गरी मैला भएको हुन्थ्यो। ननुहाई हुँदै हुँदैनथ्यो। अहिले त्यो अवस्था छैन। कोभिडको महामारीमा हामीले धेरै समय त्यत्तिकै खर्च गर्नुपर्याे । नत्र काठमाडौं अर्कै भइसक्ने थियो,’ शाक्यले भने, ‘हामीले पैसा हेरेर विकास योजना बनाएका छैनौँ। योजना तर्जुमा गरेर त्यसअनुसारको पैसा छुट्टिएका छौँ। पैसा जति छ त्यतिको योजना बनाउँदा जनताका आवश्यकता पूरा हुँदैनन्।’
प्रमुख शाक्यले मूर्त, अमूर्त सम्पदाको मर्मत, सम्भार र जीर्णोद्धार, शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप लगानी हुँदै गरेकाले काठमाडौं बस्न र हेर्न लायक सहर बन्दै गएको बताए।
महानगरका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवन भूमिगतसहित भवन पाँच तलाको हुनेछ। भवन अपांगतामैत्री र ज्येष्ठ नागरिकमैत्री हुनेछ। आउँदो वर्षको भदौ मसान्तभित्र (१२ महिनामा) निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको उनले बताए। भवनको सम्झौता रकम भ्याटसहित चार करोड तीन लाख ५८ हजार नाै सय ९४ रुपैयाँ रहेको छ। यसको निर्माण सुनकोसी प्रजिल जेभीले गर्दै छ।