आठ महिनापछि भारतबाट आयो खरिद गरेको १० लाख खोप

आइतबार, २४ असोज, २०७८
डिजिटल संस्करण

सरकारले अग्रिम भुक्तानी गरेको भए पनि आठ महिनापछि मात्रै कोभिड– १९ विरुद्धको खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख डोज खोप पठाएको छ । सम्झौताअनुसार आठ महिनाअगाडि नै आउनुपर्ने भए पनि भारतले १० लाख पठाएर १० लाख डोज खोप रोकेको थियो । ५ फागुन ०७७ मा सरकार र सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख खोप खरिदका लागि सम्झौता भएको थियो । 

सरकारको पटक–पटकको पहलपछि शनिबार बाँकी १० लाख खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए । सम्झौताकै समयमा सरकारले चार डलरका दरले अग्रिम भुक्तानी गरेको थियो । भारतबाट आएका दश लाख डोज खोप दसैँपछि लगाउने सरकारको तयारी छ । 

९ माघ ०७७ मा भारतले नेपाललाई दश लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । भारतबाट दश लाख अनुदान, दश लाख खरिदको, नेपाली सेनालाई एक लाख सहयोग र कोभ्यास सुविधामार्फत तीन लाख ४८ हजार मात्रा खोप आएको थियो । तर, खरिद गरेको खोप आउन ढिला भएपछि सरकारलले अन्य देशसँग सहयोग मागेको थियो । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेका खोप दिएको थियो ।

त्यस्तै, भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिसिल्ड खोप प्राप्त भएको थियो । अहिलेसम्म पूर्ण खोप लगाउने ६४ लाख ४६ हजार नौ सय ५७ जना पुगेका छन् । पहिलो डोज लगाएका संख्या ८१ लाख २७ हजार दुई सय ६२ जना पुगेको छ । 
 

See More On

सुझावित समाचार