सिजन सकिए पनि घटेनन् फ्लुका बिरामी

शुक्रबार, २२ असोज, २०७८
डिजिटल संस्करण

बिरामी बढेपछि टेकु अस्पतालले नेसनल इन्फ्लुएन्जा सर्भिलेन्स नेटवर्क डेस्क नै स्थापना गरेर सेवा दिँदै आएको छ, लक्षणसहित दैनिक आउने बिरामीमध्ये चारदेखि सातजनासम्ममा फ्लु पोजेटिभ देखिने गरेको छ 

काठमाडौं बालाजुमा बस्दै आएकी २७ वर्षीया रेजिना सोमबार दिउँसो टेकु अस्पतालकोे ओपिडीमा चेकजाँच गर्न पालो कुरिरहेकी थिइन् । उनमा केही दिनदेखि लगातार ज्वरो आउने र कमजोरी महसुस हुने गरेको थियो । सामान्य औषधिले निको नभएपछि उनका श्रीमान्ले सोमबार बिहानै टेकु अस्पताल ल्याएका हुन् ।

चेकजाँचपछि उनमा इन्फ्लुएन्जा पोजेटिभ देखियो । टेकुमा कोभिडबाहेकका बिरामी भर्ना लिन नमिल्ने भन्दै उनलाई प्रेस्क्रिप्सनसहित अर्को अस्पताल रिफर गरिदिए । चेकजाँचमा संलग्न चिकित्सकका अनुसार उनलाई अत्यधिक टाउको दुख्ने र ज्वरो आइरहने भएपछि पिसिआर गरिएको थियो । उनमा इन्फ्लुएन्जा बी देखिएको थियो । 

शेरबहादुर पुन भाइरोलोजिस्ट

अस्पतालसम्म पुग्ने बिरामीमा देखिने इन्फ्लुएन्जाहरूमा पछिल्लो वर्षहरूको तुलनामा एच३ अर्थात् हङकङ फ्लु र भिक्टोरियाका संक्रमित बढी छन् । योसँगै फ्लु बीअन्तर्गत यमागार्टा र भिक्टोरियाभन्दा फरक फ्लु बढी देखिन थालेको प्रष्ट छ ।

५४ वर्षीय वीरबहादुर गुरुङ पनि लगातार ज्वरो आउने, टाउको दुख्ने, पखाला लागिरहने समस्या भएपछि टेकु अस्पताल पुगेका थिए । जेठ अन्तिमतिर कोभिड संक्रमण भएकाले उनी पोस्ट कोभिडको शंका लागेर परीक्षणका लागि अस्पताल पुगेका थिए । तर, परीक्षणको क्रममा उनलाई पनि एन्फ्लुएन्जा बी देखियो । चिकित्सकको सल्लाहमा औषधि लिएर उन घर फर्के । उनी भन्छन्, ‘कोभिड संक्रमण भएको वेलामा समेत मैले यति दुःख पाएको थिइनँ । डाक्टरले नयाँ किसिमको फ्लु देखियो भनेका छन्, यसले अझै कति दुःख दिने हो थाहा छैन ।’

नेपालमा सामान्यतया जुलाईदेखि सेप्टेम्बर अन्तिमसम्म फ्लु संक्रमण बढ्ने गरेको तथ्यांक छ । तर, यो वर्ष अझैसम्म पनि फ्लुको जस्तै लक्षण लिएर अस्पताल पुग्ने दैनिक ४० देखि ५० जना हुने गरेको चिकित्सकहरू बताउँछन् । बिरामी बढेपछि टेकु अस्पतालले नेसनल इन्फ्लुएन्जा सर्भिलेन्स नेटवर्क डेस्क नै स्थापना गरेर सेवा दिँदै आएको छ ।

लक्षणसहित दैनिक आउने बिरामीमध्ये चारदेखि सातजनासम्ममा फ्लु पोजेटिभ देखिने गरेको छ । चिकित्सकहरूका अनुसार अघिल्लो वर्षको तुलनामा यो सेप्टम्बर अन्तिमसम्ममा इन्फ्लुएन्जाका बिरामी बढिरहेका छन् । 

नेपालमा फेब्रुअरीदेखि मार्च र जुलाईदेखि सेप्टेम्बरलाई फ्लुको सिजन मानिन्छ । कहिलेकाहीँ फ्लु स्ट्रेनअनुसार सिजन लम्बिन पनि सक्छ । चिकित्सकहरूका अनुसार, फ्लुलाई ए, बी, सी र डी ग्रेडमा राखिन्छ । सी र डीले खासै असर पुर्‍याएको पाइँदैन । तर ए अन्तर्गतका फ्लुले महामारीको रूपसमेत लिन सक्छ । यसमा एचवानएनवान (स्वाइनफ्लु), एच३ (हङकङ फ्लु), एच५एन१ (बर्डफ्लु) पर्छन् । यस्तै बी अन्तर्गत लिनेजमा यमागार्टा र भिक्टोरिया पर्छन् । 

कोभिडपछि नयाँ फ्लु 
अस्पतालसम्म पुग्ने बिरामीमा देखिने इन्फ्लुएन्जाहरूमा पछिल्लो वर्षहरूको तुलनामा एच३ अर्थात् हङकङ फ्लु र भिक्टोरियाका संक्रमित बढी छन् । योसँगै फ्लु बीअन्तर्गत यमागार्टा र भिक्टोरियाभन्दा फरक फ्लु बढी देखिन थालेको भाइरोलोजिस्ट शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘सन् २०२१ पछि ‘नट डिटरमाइन्ड’ अर्थात पहिचान नभएको अर्को फ्लु देखिन थालेको छ । तीन सातायता ‘फ्लू बी’ बढी आक्रामक देखिएको छ ।’ पिसिआर परीक्षणमा यस्ता फ्लुहरू देखिए पनि यसबारे अनुसन्धान नहुँदा छुट्याउन गाह्रो हुने गरेको उनले बताए ।

भ्याक्सिन प्रयोग न्यून
कोभिड महामारीपछि फ्लुको भ्याक्सिन छायामा परेको छ । भ्याक्सिन प्रयोगका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र सिडिसीले फ्लुको भ्याक्सिन लगाउन आग्रह गरिरहेका छन् । डब्लुएचओको तथ्यांकअनुसार विश्वमा इन्फ्लुएन्जाका कारण हुने समस्याबाट मात्रै बर्सेनि लाखाैंको ज्यान जाने गरेको छ । अमेरिका र युरोपमा फ्लुको भ्याक्सिन लगाउन क्याम्पियन चलाइएको छ । तर, प्रत्येक वर्ष हजारौँको संख्यामा इन्फ्लुुएन्जा देखिने भएकाले भ्याक्सिन प्रयोगकर्ताको यकिन तथ्यांकसमेत उपलब्ध छैन । नेपालमा इन्फ्लुएन्जाको भ्याक्सिन सबैभन्दा धेरै आयात गर्ने एटिकेम मेडिसिन डिस्ट्रिब्युटरका अनुसार प्रत्येक सिजनमा चारदेखि ६ हजार डोज खोप नेपाल आउने गर्छ । प्रत्येक वर्ष बढीमा २५ हजार डोज खोप नेपाल ल्याइने अनुमान छ । 

फ्लुको स्ट्रेन परिवर्तन भइरहने हुँदा तीन वा चार किसिमका मात्रै भ्याक्सिन बन्ने गरेको छ । जुन निजी अस्पतालदेखि फार्मेसीमा उपलब्ध हुन्छ । सामान्यतया फ्लुको सिजन सुरु हुनुभन्दा दुई साताअगाडि भ्याक्सिन लगाउनुपर्ने मान्यता राखिन्छ । तर, नेपालमा फ्लुलाई बेवास्ता गर्ने भएकाले बढी प्रभावित भइरहेको डा. पुनको भनाइ छ । उनी भन्छन्, ‘हामीकहाँ फ्लुले पार्ने असरबारे अध्ययन नै गरिँदैन । यसले पुर्‍याउने क्षतिबारे अनुमान नहुँदा झनै समस्या बढिरहेको छ । केही वर्षयता नेपालमा फ्लुकै कारण दुई दर्जनभन्दा बढीको मृत्यु भएको देखेको छु ।’

भ्याक्सिन शतप्रतिशत प्रभावकारी छैन, तर मृत्युदर घटाउँछ
फ्लुविरुद्धको भ्याक्सिन शतप्रतिशत प्रभावकारी मानिँदैन । तर, यसले अस्पताल भर्नादर, गम्भीर समस्या र मृत्युदर घटाउने गर्छ । सामान्य औषधि र आरामपछि केही दिनमा निको हुने भए पनि कतिपय फ्लुले महामारीको समेत रूप लिने गरेको पाइन्छ । फ्लुको भ्याक्सिनको माग न्यून रहने र कतिपय अवस्थामा ल्याइएको भ्याक्सिनसमेत खेर जाने गरेको औषधि आयात कम्पनीहरूको भनाइ छ । सहज उपलब्धता भए पनि बेवास्ता गरिँदा बर्सेनि हजारौँ बिरामी अस्पताल पुग्न बाध्य छन् ।

See More On

सुझावित समाचार