- ११० बिरामी स्थानीय अस्पतालमा उपचाररत, दुईको मृत्यु, दुई सय २८ उपचारपछि घर फर्किए
- केन्द्रबाट गयो चिकित्सक र डब्लुएचओको टोली
कपिलवस्तुमा विष्णु घिमिरे र डिलाराम भुसाल, काठमाडौंमा अर्जुन अधिकारी
प्रकोप फैलिएको पाँच दिन भइसक्दा पनि कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको कारण पत्ता लाग्न सकेको छैन । बिरामीको सहज उपचार हुन सकेको छैन । अहिलेसम्म दुईजनाको मृत्यु भइसकेको छ ।
कृष्णनगर नगरपालिका वडा नं. ३, ४, ७, ८, ९ र १२ मा पर्ने बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरागाउँ सबैभन्दा प्रभावित छन् । ती गाउँबाट बिहीबार पनि थुप्रै बिरामी बहादुरगन्जमा रहेको शिवराज अस्पताल पुगेका छन् । अस्पतालका डा. मुकेश चौधरीले बिहीबार साँझसम्म अस्पतालमा एक सय १० बिरामी उपचाररत रहेको जानकारी दिए । उनले तीमध्ये दशजना गम्भीर बिरामी रहेको बताए । स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले सोमबारयता दुई सय २८ जना निको भएर घर गएका छन् । उपचार हुन नसकेका ३२ बिरामीलाई तौलिहवा र लुम्बिनी अस्पतालमा रिफर गरिएको छ ।
स्वास्थ्य प्रमुख पाण्डेले झाडापखाला फैलिनुको कारण खोजी भइरहेको बताए । प्रारम्भिक अनुसन्धानमा पिउने पानीबाट फैलिएको पाइएको उनले बताए । ‘चिकित्सकहरूको एउटा टोलीले प्रभावित क्षेत्रका घरघरमै पुगेर अनुसन्धान तथा नमुना संकलन गरिरहनुभएको छ,’ प्रमुख पाण्डेले भने, ‘अहिलेसम्म चारवटा नमुना लिइएकोमा एउटामा दूषित पानी पाइएको छ । त्यसैले पानीको थप परीक्षण अघि बढाएका छौँ । बिरामीको दिसा परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पनि पठाएका छौँ ।’
उनले नमुना संकलनसँगै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीले सरसफाइ तथा झाडापखालाबाट जोगिनेसम्बन्धी सचेतना कार्यक्रम पनि गरिरहेको जानकारी दिए । उनले हाल प्रभावित क्षेत्रमा प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयबाट ५० भन्दा बढी स्वास्थ्यकर्मी खटिएको जानकारी दिए । ‘सात–आठजना डाक्टर रहने गरी आलोपालोमा चिकित्सकहरू खटाइएको छ,’ मन्त्रालयका सचिव डा. विकास देवकोटाले भने ।
चौरमै राखेर उपचार
बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा बिरामीको संख्या थामिनसक्नु छ । अस्पतालको बेडले नभ्याएपछि अस्पतालपरिसरमै रहेका वरपीपलका रूख र श्रीराम गोरखा माविको चौरमा समेत राखेर बिरामीको उपचार गरिएको उपचारमा संलग्न डा. मुकेश चौधरीले बताए ।
‘बिरामीको संख्या बढिरहेको छ । शय्या अभाव भएकाले चौरमै राखेर भए पनि उपचार गरिरहेका छौँ,’ डा. चौधरीले नयाँ पत्रिकासँग भने, ‘यसैगरी बिरामी बढिरहे भने स्वास्थ्यकर्मीले बिरामी हेर्नै भ्याउँदैनौँ, औषधि पनि पुग्दैन ।’ अहिले शिवराज अस्पतालमा सातजना चिकित्सक र ५० भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् । सातमध्ये प्रदेश अस्पतालबाट दुई तथा जिल्ला अस्पतालबाट चार चिकित्सक गएका हुन् ।
झाडापखालाबाट अहिलेसम्म दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बहादुरगन्जका पाँच वर्षका राज कश्यप र ४० वर्षका रामप्रसाद केवट रहेको स्थानीय मनीष गुप्ताले बताए । गुप्ताका अनुसार अस्पताल पुर्याउनुअघि गत आइतबार र सोमबार उनीहरूको मृत्यु भएको हो । शिवराज अस्पतालले भने अस्पताल आइपुगेपछि कसैको मृत्यु नभएको जनाएको छ ।
केन्द्रले पठायो चिकित्सक र डब्लुएचओको टोली
कृष्णनगरमा झाडापखालाले महामारीको रूप लिएपछि संघीय सरकारले चिकित्सक तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली पठाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार आवश्यक स्वास्थ्य सामग्री र औषधि लिएर इपिडिमियोलोजिस्ट डा. शशि कँडेलको नेतृत्वमा कोलचन्द्र सुवेदी र डब्लुएचओबाट डा. रविन गौतमको टोली कृष्णनगर गएको हो ।
रोग नियन्त्रण महाशाखाका निर्देशकसमेत रहेका डा. पौडेलले जिल्ला र प्रदेशसँग समन्वयको काम भइरहेको बताए । ‘अहिले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीलाई हाई अलर्टमा राखेको छ । समस्या थप बिग्रँदै गए चिकित्सकको थप टोली पठाइनेछ,’ डा. पौडेलले भने, ‘चिकित्सक नपुग्दै समुदायमै महामारीबाट दुईजनाको मृत्यु भइसकेको रहेछ । चिकित्सकहरूको टोली पुगेपछि मृत्युको कुनै रिपोर्ट आएको छैन ।’
पाँच दिनपछि बोल्यो स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी कृष्णनगर नगरपालिका वडा नं. ३, ४, ७, ८, ९ र १२ मा फैलिएको झाडापखालाको प्रकोपले सयौँ नागरिक सिकिस्त बिरामी परेको जनाएको छ । ‘मन्त्रालयले भनेको छ, ‘१८ गते बेलुकीदेखि गाउँभरका मान्छेलाई झाडापखाला र बान्ता भएको रहेछ । अहिले पनि सो क्रम जारी नै छ ।’