मनाङमा बाढीपहिरोले क्षतिग्रस्त घर सरकारले बनाइदिने गृहमन्त्रीको आश्वासन

शुक्रबार, २२ असोज, २०७८
डिजिटल संस्करण

गृहमन्त्री खाणद्वारा मनाङको बाढीप्रभावित क्षेत्रको अनुगमन

गृहमन्त्री बालकृष्ण खाणले  मनाङमा भएको बाढी प्रभावित क्षेत्रको अनुगनमन गरेका छन् ।  गृहमन्त्री  खाणले बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण गर्दै बाढीपहिरोबाट क्षतिग्रस्त घर सरकारले बनाइदिने आश्वासनसमेत दिएका छन्।  

नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहीबार मनाङको चामे र तालगाउँ पुगेका उनले क्षतिग्रस्त हिमाली जिल्लाका घर निर्माणका लागि सरकारले पीडित परिवारलाई पाँच लाख रुपैयाँका दरले रकम दिने बताए । 

गृहमन्त्रीसँगै मनाङ पुगेका पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले गृहमन्त्री खाणले बाढी प्रभावितलाई राहतमा कुनै कसुर बाँकी नराख्ने आश्वासन दिएको बताए  । उनले भने, ‘गृहमन्त्री खाणले पुनर्निर्माण कार्यका लागि दसैँअगावै प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ।’ 

प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले गृहमन्त्री खाणलाई मनाङमा बाढीपहिरोले पुर्याएको क्षतिबारे जानकारी गराएका थिए । साथै मन्त्री खाणले नागरिकको सेवा, विपत् र सुरक्षामा खटिन कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । असार १ मा आएको भीषण बाढीपहिरोका कारण मनाङका एक सय १० घरमा पूर्ण क्षति पुगेको मनाङ प्रशासनले जनाएको छ । ४७ घरमा आंशिक क्षति भएको छ ।

सुझावित समाचार