नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यतामा देखिएको असन्तुष्टिलाई नजरअन्दाज गरेको आरोप लगाएका छन्। नयाँ पत्रिकासँगको कुराकानीका क्रममा पौडेलले सदस्यताको विषयलाई लिएर तीन महिनादेखि अनशन बसेका नेता–कार्यकर्ताको माग पूरा नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
सभापति देउवाले सदस्यताको विषयलाई बेवास्ता गरेको उनले आरोप लगाए। ‘पूर्वमन्त्रीदेखि सांसदसम्मका बुढाबुढा नेताहरू अनशनमा छन्,’ उनले भने, ‘अहिले मुख्य रूपमा क्रियाशील सदस्यताको विषय समाधान गर्नुपर्ने हो। यत्रो बदमासी भएको छ, सभापति के हेरेर बसेका छन् ?’
वरिष्ठ नेता पौडेलले पार्टीमा न्यायोचित विधि र प्रक्रियाअनुसार काम हुनुपर्छ भनेर अनशनमा बसेकाहरूको मागलाई नेतृत्वले नसुनेको भन्दै चिन्ता व्यक्त गरे। उनले बुधबारको भेटमा समेत सभापतिसामु यस विषयलाई जोडदार रूपमा उठाएको बताए। ‘नेता–कार्यकर्ता त्यत्रो लामो समयदेखि अनशनमा छन्। यत्रो बदमासी छ। सभापतिले भने चासो देखाइरहनुभएको छैन। हामीलाई त सरकारमा कसलाई पठाउने भन्नेभन्दा पनि क्रियाशीलको विषय ठूलो हो,’ उनले भने।
अर्को प्रसंगमा पौडेलले प्रधानमन्त्री देउवाले इतर पक्षलाई मन्त्रालय बाँडफाँडमा अन्याय गरेको बताए। संस्थापनइतर पक्षले तीन मन्त्रालयको माग गरे पनि देउवाले दुई मात्र मन्त्रालय दिन सकिने बताउँदै आएका छन्।