दसैँको आगमनसँगै देशैभरका शक्तिपीठमा भक्तजनको भिडभाड बढेको छ। गत वर्ष कोभिड– १९ का कारण बन्द रहेका शक्तिपीठहरू यो वर्ष भने खुलेका छन्। शक्तिपीठहरूमा पूजा गर्न भक्तजनहरू आज बिहानैदेखि लाइन लागेका छन्। उपत्यकाभित्र पलाञ्चोक भगवती, कालिकास्थान, नक्साल भगवती, गुह्येश्वरी, शोभाभगवती, हनुमानढोका, दक्षिणकालीलगायत देवीका अन्य मन्दिरहरूमा भक्तजनको भिड लागेको हो।
आश्विन शुक्ल प्रतिपदाका दिन सबै शक्तिपीठहरूमा जमरा राख्ने प्रचलन छ। आजदेखि नै हातहतियार धोइपखाली गरी पूजा गरिन्छ। धार्मिक र प्रचलित मान्यताअनुसार देवीलाई तीन शक्ति : महासरस्वती, महालक्ष्मी र महाकालीका रूपमा लिइन्छ। महासरस्वतीको पूजा गर्दा ज्ञान र विद्या प्राप्त हुने मान्यता रहँदै आएको छ। महालक्ष्मीलाई सम्पत्तिकी अधिस्ठात्रीका रूपमा लिइन्छ भने महाकालीलाई इच्छाअनुसार शक्ति दिने महादेवीका रूपमा लिइन्छ। पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव तथा संस्कृतिविद् गोविन्द टन्डनका अनुसार देवीका केही रूप छन्। ती रूपअनुसार देवीले फरकफरक शक्ति दिन्छन् भन्ने मान्यता छ।
किन पूजा गरिन्छ शक्तिपीठमा ?
संस्कृतिविद्हरूका अनुसार शक्तिपीठलाई देवीको विशेष शक्ति वा शक्ति उत्पन्न भएका ठाउँको रूपमा लिइन्छ। पीठहरूमा पुगेर पूजा गर्दा देवीको शक्ति मिल्ने र अपूरा काम सिद्ध हुने धार्मिक मान्यता रहँदै आएको छ। धार्मिक मान्यताअनुसार महिषासुर राक्षसको वध गरी भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेका थिए। दुर्गाले दैत्य चण्ड–मुण्ड तथा शुम्भ–निशुम्भलाई वध गरेको खुसियालीस्वरूप दसैँ मनाउन थालिएको पाइन्छ। घटस्थापनाको दिनदेखि शक्तिपीठमा पूजाआजा गरिन्छ। उपत्यकाबाहिर अधिकांश देवीका मन्दिरहरू अग्लो स्थानमा छन्। ती स्थान वा मन्दिर भएको ठाउँलाई कोट भनिन्छ।
शक्तिपीठमा पूजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहेको जानकारहरू बताउँछन्। ‘शक्तिपीठमा पुगेर उपासना वा पूजाआजा गर्दा शक्ति मिल्ने र मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहँदै आएको छ,’ संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले भने, ‘शक्तिपीठको पूजा गर्दा राष्ट्रको भलोका साथै व्यक्तिलाई ऊर्जा, शक्ति, आँट र सम्पत्ति आर्जन हुनेजस्ता मान्यता रहँदै आएका छन्।’ त्यस्तै घटस्थापनको सातौँ दिन अर्थात् सप्तमीमा महासरस्वती, अष्टमीमा कालारात्रि, नवमीमा महालक्ष्मीको पूजा गरिन्छ। यी देवीको पूजा गर्दा भक्तजनको मनोकांक्षा पूरा हुन्छ भन्ने मान्यता राखिन्छ।
पशुबलि : दसैँको हिंस्रक पाटो
दसैँको वेला शक्तिपीठहरूमा बलि दिने चलन छ। बाराको गढीमाई मन्दिरमा सबैभन्दा बढी बलि दिइन्छ। नेपाल मात्रै नभएर भारतबाट पनि यहाँ बलि चढाउन आउनेहरूको भिड लाग्ने गर्छ। यसबाहेक अन्य शक्तिपीठहरूमा पनि बलि दिइन्छ। तर, समाजशास्त्री तथा संस्कृतिविद्हरूले यसलाई समाजको हिंस्रक पाटो मानेका छन्। उनीहरूले समाजमा निस्तेज गर्नुपर्ने बलिप्रथालाई झन्–झन् बढावा दिन थालिएको बताएका छन्। संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले बलिको नाममा हुने प्राणीको हत्याले समाजलाई हिंस्रक बाटोतर्फ डोर्याएको बताए। उनले बलि दिने तरिकाको विकल्प खोज्नुपर्ने बताए।
कुन दिन कुन देवीको पूजा ?
- पहिलो दिन–शैलपुत्री
- दोस्राे दिन– ब्रह्मचारिणी
- तेस्रो दिन–चन्द्रघण्टा
- चौथो दिन–कुस्माण्डा
- पाँचौँ दिन–स्कन्दमाता
- छैटौँ दिन–कात्यायनी
- सातौँ दिन–कालरात्रि
- आठौँ दिन–महागौरी
- नवौँ दिन– सिद्धिदातृ
यी हुन् मुख्य शक्तिपीठ
- तलेजु भवानी
- दक्षिणकाली भगवती
- गुह्येश्वरी
- बज्रयोगिनी
- बगलामुखी
- शोभा भगवती
- विजेश्वरी
- इन्द्रायणी
- नरदेवी
- नक्साल भगवती,
- कंकेश्वरी
- मैतीदेवी
- कालिकास्थान
- भद्रकाली
- रक्तकाली
- मनमानेश्वरी
- बज्रबाराही
- दन्तकाली
- जालपादेवी
- छत्रेश्वरी
- मनकामना
- कमलाक्षी
- गलेश्वरी
- ज्वालापादेवी
- देवलहाट मन्दिर
- मालिकादेवी
- कालिकादेवी
- बडी मालिकास्थान
- चन्दननाथ दत्रात्रय
- त्रिपुरा सुन्दरी
- शिरस्थानदेवी
- खैरावाङदेवी
- देवीस्थान भगवति
- माईपोखरी
- अर्घाकोट भगवती
- स्वर्गद्वारी
- विन्ध्यवासिनी
- गढीमाई
- पलाञ्चोक
- कोडकडेनी देवी
- छिन्ताङ भगवती
- पाथीभरा देवी
- पाथीभरा
- छिन्नमस्ता भगवती
- टुँडालदेवी
- खाँचीकोट भगवती